मेचीनगर, २३ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा रास्वपाको एकल प्यानल खडा गरी सुदर्शन खड्काको नेतृत्वमा चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार खड्कासँगको कुराकानी ।
तपाईले खानेपानी चुनावलाई कसरी लिनु भएको छ ?
सामाजिक क्षेत्रमा क्रियाशील भएपछि संस्थामा रहेर केही गरौं भन्ने सोचको विकास भएपछि मैले अध्यक्षमा उम्मेदवारी दिएको छु । निर्वाचनलाई स्वभाविक रुपमा लिएको छु ।
खानेपानीका चुनौतिहरु के छन् ?
खानेपानीमा चुनौतिका चाङ छन् । वर्षौंदेखि लेदो पानी आउनेक्रम अझै रोकिएको छैन । पाइपलाइनको सरसफाइ छैन । ढल तथा निकासको समस्या छ । पानीको मुहान सुक्दै गएका छन् । सडक सञ्जाल बढ्दै गएको छ ।
यसले आगामी दिनमा थुप्रै पाइप फुट्ने सम्भावना छ । ती सबै खाले समस्याको समाधान गरी खानेपानी सहज तरिकाले उपलब्ध गराउनुपर्ने लगायतका धेरै चुनौति छन् । त्यसैगरी गरीब, विपन्न परिवारलाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउनु छ ।
तपाईंंका चुनावी एजेण्डा के छन् ?
स्लोगनमै एउटा महत्वपूर्ण कुरा उठाएका छौं, ‘खानेपानीको स्वच्छता र शुद्धता आर्थिक पारदर्शिताको पूर्ण प्रतिबद्धता,’ । हामी संस्थालाई आर्थिक रुपमा पारदर्शी बनाउने छौँ । गरिब र विपन्न वर्गलाई पहिचान गरी जडान शुल्क र मासिक शुल्कमा न्यूनतम मापदण्ड तयार गरी सहयोग पुर्याउने ।
सार्वजनिक शौचालय र सार्वजनिक विद्यालयमा निःशुल्क खानेपानीको व्यवस्था गर्ने लगायतका ११ बुँदे प्रतिबद्धताहरु रहेका छन् । यी हुन् चुनाव जित्ने प्रतिबद्धता र एजेण्डाहरु ।
तपाईंले प्रतिष्पर्धीलाई कसरी हेर्नु भएको छ ?
मैले प्रतिष्पर्धीलाई सामान्य र सकारात्मक रुपमा लिएको छु । निर्वाचन भयरहित र मर्यादित बनाउनु पर्छ । स्वच्छ प्रतिष्पर्धाबाट उपभोक्ताले नयाँ नेतृत्व छान्न पाउनु पर्छ ।
अन्त्यमा ?
हामी स्वतन्त्र ढंगले निर्वाचनमा आएका छौं । खानेपानीमा केही परिवर्तन गराउने सोचका साथ हामी निर्वाचनमा होमिएका छौं । कोही उम्मेदवार हाम्रो टिमबाट निर्वाचित होलान्, कोही अर्काे प्यानलबाट सबै मिलेर काम गर्नेछौं ।
(मेची आवाज साप्ताहिकबाट)
Discussion about this post