मेचीनगर, २३ जेठ । मेचीनगर–१३, चारआली स्थित सेन्टपल्स एकाडेमीले लोप हुन लागेका परम्परागत सामाग्रीहरुको प्रदर्शनी गरेको छ ।
आज विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले नेपालका प्राचिन तथा मौलिक संस्कृति बोकेका परम्परागत सामाग्रीहरुको प्रदर्शन गरेको हो ।
समयको विकाससँगै ओझेलमा पर्दै गएका ढिकी, जाँतो, टुकी, लाल्टिन, हलो, ठेकी, ढ्यांग्रो लगायतका २ सय वटा भन्दा बढी सामाग्री प्रदर्शनमा राखिएको थियो ।
विद्यार्थीहरुलाई आफ्नो मौलिक तथा परम्परागत प्राचिन तथा लोप हुन लागेका सामाग्री चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अजय आलेले जानकारी दिए ।
‘आज प्राचिन सभ्यता र संस्कृति बोकेका पुराना सामाग्री लोप हुँदै गएको अवस्था छ,’ आलेले भने, ‘उक्त सामाग्री नानीहरुलाई चिनाएर हाम्रो कला, परम्परागत सामाग्री र संस्कृतिको संरक्षण गर्न खोजेका हौँ ।’
विद्यालयले विद्यार्थीको पढाइमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत प्रोत्साहित गरिरहेको बताए । प्रदर्शनीमा अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी लगायत स्थानीयहरुले अवलोकन गरेको बताइएको छ ।
Discussion about this post