झापा, ३० जेठ । बिर्तामोड स्थित गिरी–बन्धु टि स्टेट प्रालिका व्यवस्थापक एवम् निर्देशक छत्रबहादुर गिरीले सर्वोच्च अदालतको आदेशलाई स्वीकारेर त्यसको ७ वटा व्याख्यालाई टेकेर जग्गा सट्टा पट्टा गर्ने तयारी गरेको बताएका छन् ।
आज चारपाने स्थित पर्शुराम पार्टी प्यालेसमा गिरी–बन्धु टि स्टेट प्रालिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् ।
उनले यो विषयमा हाउँगुजी नबनाउन आग्रह गरेका छन् । उनका अनुसार यतिसम्म चर्चा चलेको छ कि गिरीबन्धु नहुँदा घर नचल्ने, पार्टी नचल्ने यहाँसम्म कि आम जनमानसमा राज्यको, सरकारको सम्पत्ति जस्तो बनाई दिएको छ । यो नितान्त व्यक्तिको सम्पत्ति हो । राज्यको होइन नीजि सम्पत्ति हो ।
मानौँ यस्तो भयो । सुत्दा पनि गिरीबन्धु, उठ्दा पनि गिरीबन्धु । यो विषयमा धेरै हाउँगुजी फैलाएको उनको भनाई छ ।
निर्देशक गिरीले भने–‘२०२१ सालमा हाम्रा पूर्खाले हदबन्दी छुटमा ५०० विगाहा मध्ये ३९० विगाहा जग्गा थियो । २०२० सालमा गिरी–बन्धु टि स्टेट स्थापना भएको हो । कसरी सरकारको जग्गा हुन्छ ? । गिरी–बन्धु परिवारको निजी जग्गामा चिया वगानको लागि प्रचलित कानून बमोजिम हदबन्दीसम्म छुट लिएको हो । नीजि जग्गाको प्रमाण हामीसँग छ । पूर्वपश्चिम राजमार्ग पनि २०३० सालमा मात्र बनेको थियो । पत्रकार सम्मेलन मार्फत भ्रममा नपर्न अनुराधे छ ।’
गिरी–बन्धु टिस्टेट प्रालिले जग्गा सट्टापट्टाका लागि दिएको निवेदन अनुसार २०७८ बैशाख १३ गते नेपाल सरकारको मन्त्रीपरिषद्बाट निर्णय भई आवश्यक मापदण्ड पुरा गरी जग्गा सट्टापट्टा गर्न इजाजत दिएको गिरीको भनाई छ ।
मन्त्रीपरिषद्को ‘जग्गा सट्टा पट्टा गर्न स्वीकृती दिने’ निर्णयलाई विभिन्न मितिमा विभिन्न व्यक्तिहरुले गिरी–बन्धु टिस्टेट प्रालिलाई विपक्षी बनाई सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकोमा अदालतको संवैधानिक इजलासले २०८० माघ २४ गते विभिन्न ७ वटा व्याख्यासहित आदेश जारी गरेको छ ।
सोही विषयलाई लिएर प्रालिले अदालतको आदेशलाई स्वीकारेर ७ वटा व्याख्यालाई आधार मानेर उक्त जग्गा सट्टापट्टा गर्ने तयारी गरिएको बताइएको छ ।
प्रालिले बुधवार पत्रकार सम्मेलनमा अदालतको उक्त फैसला÷आदेश हेर्दा मन्त्रीपरिषद्ले उक्त निर्णय गर्दा केहि आधारभुत कुराको विषयमा ध्यान नदिई निर्णय भएको (जस्तै चिया वगान सञ्चालनको लागि सट्टा भर्ना दिने जग्गा नदेखाएको, चिया खेतीयोग्य जग्गाको वातावरणीय प्रभाव मुल्याङ्कन नगरिएको, मजदुरहरुको रोजगारीको सुनिश्चतता नदेखिएको र मुल्यका दृष्टिले कुनै धारणासम्म बनाउन नमिल्ने प्राविधिक कारण) भन्ने देखिएको छ । यस सम्बन्धमा प्रालिले ७ वटा बुँदामा ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तीमा हाल पूर्वतर्फ बजार फैलिँदै गएको, वगानसँगै अस्पताल, विद्यालय बनेको, बगान क्षेत्रमा फोहोरमैला फाल्ने गरेको, चियाका बुटा काटेर दाउरा बनाएर लैजाने गरेको, आत्महत्या हुने गरेको, मृत जनावरहरु फाल्ने गरेको, किटनाशक औषधि छर्नुपरेको, त्यसबाट स्थानीय मानिसको स्वास्थ्यमा असर परेको र अन्ततः गाईबस्तु चराउने ठाउँ बनेकाले उत्पादन पनि घटेको उल्लेख छ ।
एउटै स्थानमा लामो समयदेखि चिया बगान रहीरहेकाले माटोको उर्बराशक्ति ह्रास आउँदा चिया उत्पादन ७० प्रतिशतसम्म घटेकाले चिया मजदुरको रोजीरोटीमा समस्या थपिँदै गएको दावी गरिएको छ । त्यसपछि चिया वगान स्थानान्तरणको प्रक्रियाअघि बढाइएको विज्ञप्तीमा छ ।
सट्टा भर्ना लिने जग्गाको मूल्यको आधार र चिया उत्पादनका लागि हदबन्दी छुट लिएकाले सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने भएकाले आवश्यक प्रक्रिया पूरा गरी टुंगोमा पुग्ने प्रालिले जनाएको छ ।
पत्रकार सम्मेलनमा गिरी–बन्धु टिस्टेट प्रालिका निर्देशक छत्रबहादुर गिरी, भरतलाल गिरी, प्रशान्त गिरी, नविन गिरी, समीर गिरी, श्याम गिरी र निमित्त प्रबन्धक एवम् मजदुर नेता शन्तकुमार राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पूर्वाञ्चल दैनिक पत्रिकाका व्यवस्थापक चन्द्रकान्त ढकालले गरेका थिए ।




Discussion about this post