झापा, ३० जेठ । झापामा १७ वर्षपछि ‘मिस्टर झापा बडिबिल्डिङ प्रतियोगिता’ हुने भएको छ ।
आज बिर्तामोड स्थित होटल हेवनमा फस्ट स्टेप फिटनेशनले पत्रकार सम्मेलनको आयोजना गरेर सो कुरा जानकारी गराएको हो ।
फस्ट स्टेप फिटनेशनका अध्यक्ष सुवास मेचेले झापामा १७ वर्षपछि यो प्रतियोगिता हुन लागेको बताए । उनले आगामी असोज १९ गते एकदिवसीय शारीरिक सुगठनका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
‘१७ वर्षअघि यो प्रतियोगिता हुँदा म मिस्टर झापा भएको थिए’, अध्यक्ष मेचेले भने–‘अहिलेसम्म यस विषयमा कुनै गतिविधि भएन । सुस्त रहयो । यसमा लागेका खेलाडीहरु ओझेलमा परे । जिल्लामा खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता गर्न लागेका छौं । यसमा विभिन्न पाँच वटा तौल समूहमा प्रतिस्पर्धाबाट मिस्टर झापा छनोट गरिने छ ।’
प्रतियोगितामा प्रथम हुनेलाई मिस्टर झापाको उपाधिसहित एक लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख एक हजार राशिको पुरस्कार प्रदान गरिनेछ । बेस्ट पोजर, बेस्ट मस्कुलर लगायतका विधामा समेत खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको मेचेले जानकारी दिए ।
प्रतियोगिता बिर्तामोडमा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाख खर्च लाग्ने अनुमान आयोजकको छ । प्रतियोगिताका लागि मिसन बिर्तामोडको सहकार्य गर्नेछ । पत्रकार सम्मेलनको सहजीकरण फस्ट स्टेप फिटनेशनका सचिव माधव झाले गरेका थिए ।
Discussion about this post