झापा, २९ जेठ । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट शिर्ष नेताहरुको गृहजिल्लाका लागि विनियोजन भएको छ ।
उक्त बजेटको ठूलो हिस्सा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, शहरी विकास मन्त्री धनबहादुर बुढाको निर्वाचन क्षेत्र र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा विनियोजन भएको पाइएको छ ।
मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ६३ अर्ब १७ करोड रुपैयाँ पूँजीगत (विकास) बजेट पाएको हो ।
आयोजनाको प्राथमिकीकरण नगरी गोरखा, रोल्पा, डोल्पा, झापा लगायत जिल्ला र निर्वाचन क्षेत्रमा शहरी विकास आयोजनाको बजेट खन्याएको छ ।
विगतका वर्षमा राजधानी काठमाडौं, प्रधानमन्त्री प्रचण्डको गृह जिल्ला चितवन र पूर्व प्रधानमन्त्री ओलीको गृह जिल्ला झापा शहरी विकास मन्त्रालयबाट धेरै बजेट पाउने सूचीमा अगाडि थिए ।
चालु र क्रमागत आयोजनाको बजेट पनि यी जिल्लामा बढी जाने गरेका थिए । धेरैवटा निर्वाचन क्षेत्र भएको र संघीय सरकारमा प्रभाव राख्ने धेरै नेताहरु हुँदा मोरङ, रुपन्देही, धनुषा लगायतका जिल्लाले पनि शहरी विकासबाट बढी बजेट पाउने गरेकै थिए ।
आगामी आर्थिक वर्षका लागि झापामा शहरी विकास मन्त्रालयबाट करिब २२१ वटा कार्यक्रमका लागि झण्डै ३ अर्ब रुपैयाँभन्दा बढी बजेट आएको छ ।
शहरी शासकीय क्षमता विकास कार्यक्रममार्फत दमक नगरपालिकाले ३२ करोड ३२ लाख, बिर्तामोड नगरपालिकाले २८ करोड २६ लाख र मेचीनगर नगरपालिकाले ७० करोड रुपैयाँ शहरी अनुदान पाएका छन् ।
त्यसबाहेक धेरै निर्वाचन क्षेत्र समेत रहेको र सभामुख देवराज घिमिरे, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौला, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन समेत झापाबाट नै निर्वाचित भएकाले उनीहरुको रोजाइका योजनाहरु पनि समेटिँदा झापामा शहरी विकासको ठूलो बजेट जाने गरेको छ ।
Discussion about this post