झापा, २ असार । कोशी प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई एक करोड र समानुपातिक सांसदलाई ५० लाख रुपैयाँका दरले योजना वितरण गरेको छ ।
प्रदेश सांसदहरुले छनोट गरेका योजनालाई बजेटमै समावेश गरेर रकम विनियोजन गरेको हो ।
विगतमा सांसदले आफूले छनोट गरेका योजनामा रकम दिन पाउने गरी सांसदहरुलाई निश्चित रकम छुट्याउने गरिन्थ्यो । तर, यसरी रकम दिइने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएपछि बजेट निर्माण गर्दा नै सांसदसँग योजना माग गरिएको छ ।
कोशीका आर्थिक मामिला मन्त्री रामबहादुर मगरले प्रत्यक्ष निर्वाचित सांसदलाई एक करोड र समानुपातिक सांसदलाई ५० लाख रुपैयाँका दरले योजना वितरण गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
कतिपय सांसदहरुले एक पटक योजना बुझाइसकेपछि पनि थप योजना माग गरेको र बजेट पाएको मन्त्री मगरले बताए । ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम त राख्न मिलेन, त्यसको बदलामा बजेटमा सांसदहरुको योजना समावेश भएको छ’, उनले भने ।
Discussion about this post