बिर्तामोड, ३ असार । झापका पत्रकारहरुले आज स्व.नेत्रप्रसाद पाठकको पाँचौ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा गरेको छ ।
सोमबार प्रेस चौतारी नेपाल झापाले बिर्तामोडको कार्यालय परिसरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा झापाका पत्रकारहरुले स्व.पाठकले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका हुन् ।
नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य गणेश पोखरेल, प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठक, समाजवादी प्रेस संगठन झापा अध्यक्ष शम्भु दाहाल, फोनिज झापा अध्यक्ष भुमिका लिम्बु फियाक लगायतले स्व.पाठकप्रति श्रद्वा सुमन व्यक्त गरेका छन् ।
स्व.पाठकको गत जेठ ३१ गते निधन भएको थियो । दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण उनी केहि महिनादेखि घरमा नै उपचार गरेर बसेका थिए ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभाको सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।
श्रद्धाञ्जली सभापछि नेपाल पत्रकार महासंघ झापा शाखा र पत्रकारजन्य संगठनहरुका प्रमुख र प्रतिनिधिहरु स्व.पाठकको घरमा पुगेर परिवारजनलाई समवेदना ब्यक्त गरेका थिए ।
पत्रकार महासंघ झापाका पूर्व अध्यक्षहरू माधव विद्राेही, कृष्ण हुमागाईले शाेक मन्तव्य व्यक्त गरे ।
समवेदना दिन आउने सबै पत्रकारहरूलाई स्व.पाठककी पत्नी सीता पाठकले पत्रकारितामा गरेकाे दु:ख र उहाँले छाडेर गएपनि हामीलाई नविर्सन आग्रह गरेकी थिइन् ।
उनकाे घरमा पत्नी सीता, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा पाठक क्रिया बारेर बसेका छन् ।
स्व.पाठक पत्रकार महासंघ झापाका पूर्व सचिव र पूर्व शिक्षक समेत हुन् ।
Discussion about this post