मेचीनगर, ४ असार । झापामा बाढीले वर्षेनि वितण्डा मच्चाउने गरेको छ । यसवर्ष पनि बाढीको जोखिम उस्तै छ ।
जिल्लामा पछिल्लो समय निरन्तररुपमा परेको पानीले धेरै नागरिकको उठिबास हुनेक्रम सुरु भएको छ । वर्षैपिछे नागरिकको ज्यानै जाने र करोडौँको अन्नबालीमा क्षति हुने गरेको छ ।
यसका लागि सरकारी निकायबाट जति नै पूर्व तयारी गरिए पनि सिमित श्रोत र साधानले सम्भव नहुने स्थानीय पीडितहरुको बुझाई छ । स्थानीय तह र यस क्षेत्रमा काम गरिरहेका विभिन्न दातृ निकायका सामाजिक संघ–संस्थाहरुले बजेट छुट्टाएर बाढी पीडितलाई दिगो समाधान गर्नु पर्ने उनीहरुको भनाई छ ।
लगातार परेको वर्षासहितको बाढीले झापाको तीन वटा गाउँपालिका र एउटा नगरपालिकाका ३१ जना नागरिक विस्थापित, १० वटा घर डुवानमा, पहिरोले एउटा घरमा क्षति र एउटा सडक बगाएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अनुसार आज विहानदेखि परेको अविरल वर्षासहितको स्थानीय खोलाको बाढीले कचनकवल गाउँपालिका–५ का ४ वटा परिवारको १३ जना विस्थापित भएका हुन् ।
उनीहरुलाई वडा नम्बर ५ की वडा सदस्य प्रभा राजबंशीको घरमा शरण दिएको छ । विस्थापित हुनेमा श्रीमलादेवी राजबंशी, कात्तिक राजबंशीको ५ जना, सञ्जय राजबंशीको ४ जना र कञ्जी राजबंशीको ३ जना परिवार रहेका छन् ।
त्यस्तै अर्जुनधारा नगरपालिका–२ मदन भण्डारी मार्ग उत्तर गोयाङ र टाङटिङ खोलाले १० वटा घर डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । वडा नम्बर २ को लाप्चेटारमा पुष्पा समाल मगरको घरमा पहिरोले पुरिएर क्षति पुगेको उनले बताए ।
यसैगरी झापा गाउँपालिका वडा नम्बर ६ को युवा टोलमा विरिङ खोलाको बाढीले दिपक आचार्य, सीता दुलाल, प्रदीप सिंह र नविन बराइली समेतको १८ जनाको परिवार विस्थापित भएका छन् ।
उनीहरुलाई स्थानीय केदार श्रेष्ठको घरमा राखिएको ढकालले बताए । यता गौरीगञ्ज गाउँपालिकाको होकलबाढी समुदायमा जोडिने सडक कनकाई खोलाले बगाएको छ ।
Discussion about this post