झापा, ४ असार । चिकित्सा शिक्षा आयोगले झापा बिर्तामोडको वीएण्डसी टिचिङ अस्पताललाई मेडिकल कलेजको ‘सम्बन्धन’ दिने निर्णय गरेको छ ।
चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बालुवाटारमा बसेको आयोगको १४औँ बैठकले अदालतको परमादेश अनुसार नै वीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक सदस्यका अनुसार आयोगका अध्यक्ष प्रधानमन्त्री दाहालले वीएण्डसीका विषयमा अदालतले परमादेश नै दिइसकेकाले उक्त विषयमा इफ, बट केही नभनी परमादेश अनुसार नै अगाडि बढ्नु पर्ने बताएपछि सोही अनुसार निर्णय भएको छ ।
उक्त अस्पतालका पूर्वाधारहरु राम्रा छन् । मैले पनि अस्पतालमा पुगेर हेरेको थिए । प्रधानमन्त्रीको प्रस्तावपछि बहुमत सदस्यल ताली बजाउँदै उक्त प्रस्ताव पास भएको ती सदस्यले जानकारी दिए ।
बालुवाटारमा आज बसेको आयोगको बैठकको प्रमुख एजेण्डा नै त्यही विषय थियो । बैठकमा आयोगका सहअध्यक्षहरु स्वास्थ्य मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए ।
सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा जेठ २४ गते परमादेश जारी गर्दे १५ दिनभित्र ‘सम्बन्धन’ दिन आदेश दिएको थियो । उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो ।
Discussion about this post