झापा, ५ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले यस्तो माग गरेका हुन् ।
मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले ५ सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उनको जिकिर थियो ।
उनले भने, ‘आर्थिक सुशासनका लागि ५ सय र हजारको नोट क्विट गर्न सक्नु पर्दछ । सरकारमा बसेका साथीहरुलाई यो निवेदन गर्न चाहन्छु सभामुख महोदय । आजको दिनमा यदि आर्थिक सुशासन कायम गर्ने हो भने ५ सय र हजारको नोट अब क्विट गरेर जान आवश्यक छ ।’
उनले ती नोटहरु प्रतिबन्ध गरेमा मुलुकमा ८० प्रतिशत भ्रष्टाचार र चुहावट नियन्त्रण हुने, सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने दाबी समेत गरे । उनले अवैध रुपमा राखिएका धनराशी पनि बाहिर आउने उल्लेख गरे ।
‘यदि यी नोटहरु क्विट गर्यो भने ८० प्रतिशत गैरकानूनी कारोवार रोकिन्छ । अनि सिरानी मुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा, पानीमुनि भएका सबै पैसा बाहिर आउँछ ।’
उपसभापति गुरुङले सरकारले ५ सय र हजारको नोटमा तत्काल प्रतिबन्ध लगाउन आवश्यक रहेको बताए ।
यसअघि भारतमा पहिलो कार्यकालमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ५ सय, हजार र दुई हजारको नोटमा प्रतबन्ध लगाएका थिए ।
Discussion about this post