मेचीनगर, १२ असार । मेचीनगर नगरपालिकाले वडा नम्बर ८ निवासी ६० वर्षीया स्वास्थ्य स्वयमसेविका तेजमणी चौधरी मेचेलाई नगद एकलाख रुपैयाँ राशीसहितको दिर्घ सेवा सम्मान गरेको छ ।
आज नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको समापनको अवसरमा महिला स्वास्थ्य स्वयंसेविका मेचेलाई मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगद एक लाखसहित दिर्घ सेवा सम्मान गरेका हुन् ।
६० बर्ष पुग्दासम्म निरन्तर महिला स्वयमसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरी अहिले अनिवार्य अवकाश प्राप्त मेचेलाई नगदसहित खदा ओढाएर सम्मान गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेटमा ६० वर्ष पुगेर अनिवार्य अवकास भएका ५ जना महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुलाई दिर्घ सेवा सम्मान स्वरुप नगद एकलाख रुपैयाँ दिने उल्लेख छ ।
यसअघि नगरपालिकाले १२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई सम्मान गरिसकेको छ ।
त्यस्तै महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई निःशुल्क स्वास्थ्य बीमा समेत गरिदिने भएको छ । संघीय सरकार र नगरपालिकाको ५०÷५० प्रतिशत बजेटबाट उक्त बीमा गरिने भएको छ ।
Discussion about this post