झापा, १३ असार । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले असार मसान्तको नाममा बैंक, बित्तिय संस्था र मिटरब्याजी समेतले उद्योगी, ब्यवसायी र श्रमजिवी जनतालाई हदैसम्मको दुःख दिन थालेपछि चेतावनीसहितको प्रेस विज्ञप्ति जारी गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी र पार्टी सचिव सञ्जय सीद्वारा जारी विज्ञप्तिमा देश आर्थिक रुपमा गम्भिर संकटमा फसेको, राज्य स्वयमले पुँजीगत खर्चको भुक्तानी दिन नसकेको, व्यापार घाटा बढेको, उद्योग ब्यवसाय चौपट भएको र यस्तो बेला बैंकहरुले नागरिकहरु बिरुद्ध बाच्न पाउने हक समेत खोस्ने गरी गरेको हर्कतको विरोध गरिएको छ । विज्ञप्तिमा उद्योगी ब्यवसायीहरुलाई दुःख नदिन चेतावनी दिइएको छ ।
विज्ञप्तिको पूर्णपाठ यस्तो छ –
असार मसान्त नामको असुली आंतक बिरुद्ध चेतावनी विज्ञप्ति
यतिवेला झापामा कृयाशिल उद्योगी, व्यापारी र सर्वसाधरण श्रमिक जनतामाथि बैंक, लघुवित्त संस्था र मिटर व्याजीहरुले असार मसान्त अर्थात क्लोजिङको नाममा चलाएको असुली आतंकप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
यो समय उद्योगी व्यापारीहरुको उद्योग धन्दा कारोवारको अवस्था खंस्कदो र संकटपूर्ण रहेको छ । व्यापार घाटाको अवस्था डरलाग्दो बन्दै गइरहेको छ । राज्यले पुँजीगत खर्च तर्फको भुक्तानी समेत समयमा दिन नसक्दा त्यसले बजारलाई झन ठुलो संकटमा फंसाइ रहेको छ । यतिवेला आम सर्वसाधरण, मध्यम स्तरका व्यापारी, उद्योगी, निर्माण व्यवसायी कम्पनीहरु समेत यो आर्थिक तरलताको मारमा पिल्सनु परेको छ ।
यस्तो गम्भिर अवस्थामा नेपाल सरकारले आम सर्वसाधरण जनता, मध्यम वर्गिय व्यवसायी, उद्योगीहरुको बाच्न पाउने अधिकारको विषयमा कुनै चासो नदिएको र नितिगत निकास नदिइ दोहोरो चरित्र देखाइ रहेको हुँदा वित्तिय संस्था बैंक तथा मिटरव्याजीहरुले धमिलो पानीमा माछा मार्ने धन्दा सञ्चालन गर्ने स्थिति बनेको छ ।
बैंक तथा वित्तय संस्थाहरु व्यवसायी तथा उद्योगीहरुको नाममा सार्वजानिक सूचना प्रकाशन गर्ने, लोन रिकभरी नामक गुण्डाहरुको टिम बनाएर फोन मार्फत र घर–घर गएर धम्काउने, थर्काउने, गाली वैइजती गर्ने, आक्रमण गर्ने जस्ता विभिन्न दवावहरु पैदा गर्ने कार्य गरिरहेका छन् । यो आतंकपूर्ण कार्य अझ धेरै यतिवेला असार मसान्तको वहानामा भैरहेको छ ।
देशको आर्थिक क्षेत्रमा उत्पन्न भएको यस्तो संकटपूर्ण अवस्थामा उद्यगी व्यवसायीहरुको बाच्न पाउने हक समेत खोस्ने गरी उद्योगी व्यवसायीहरुको सामाजिक अस्तित्वमा आँच पुर्याउने र मर्न वा पलायन हुन बाध्य पार्ने कार्यहरु बढिरहेका छन् ।
हामी उद्योगी व्यवसायीहरुको सुरक्षा र हितमा गम्भिरता पूर्वक सोच्न राज्य समक्ष जोडदार माग गर्दछौं । साथै असार मसान्तको नाममा असुली आंतक सञ्चालन गरेर होइन कि बरु के गर्यो भने उद्योगी व्यवसायीलाई सहज हुन्छ र ऋण उठ्न सक्छ भन्ने कुरामा बैंक तथा वित्तिय संस्थाले संयमित भएर गम्भिरता पूर्वक लाग्न अनुरोध गर्दछौ ।
उद्यगी व्यवसायी तथा जनताको बाच्न पाउने हक समेत खोस्ने गरी भएका र गरिएका सबै खाले हर्कतहरु तुरुन्त रोक्न बैंक, वित्तिय संस्था र मिटर व्याजीहरुलाई कडा चेतावनी दिन चाहान्छौँ । उद्योगी व्यवसायीहरु तथा सर्वसाधरण जनतालाई संयमित बन्न र उच्च मनोवलसहित यो संकट विरुद्ध संघर्ष गर्न अनुरोध गर्दछौँ ।
Discussion about this post