बाहुनडाँगी, २५ असार । यस पटकको एसईईमा धेरै विद्यार्थीहरु अनुर्तीण भएपछि ‘गरे सम्भव छ’ भन्ने उदेश्यका साथ युवा शिक्षकहरुको एक समुहले पूरक परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरेर निःशुल्क अतिरिक्त कक्षा सुरु गरेका छन् ।
युवा अभियन्ता शिक्षक रोमन विक्रम कार्कीको योजनामा युवा शिक्षकहरुले ‘गरे सम्भब छ’ भन्ने उदेश्यका साथ मेचीनगर–१, २, ३ र ४ नम्बर साविकको बाहुनडाँगीका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरेर निःशुल्क कक्षा सञ्चालन गरिरहेका छन् ।
कार्कीका अनुसार विज्ञान र गणित विषयलाई प्राथमिकतामा राखेर कक्षा अध्यापन गराइएको छ । कक्षा यहि असार १९ गतेदेखि आगामी साउन २३ गतेसम्म सञ्चालन हुने छ । कक्षा विहान ७ बजेदेखि ८ः३० वजेसम्म सञ्चालन हुने छ ।
परीक्षा केन्द्रीत भइ पढाउने, नोट उपलब्ध गराउने, प्रत्येक शनिबार परीक्षा र विद्यार्थीको सहजता अनुसार अंग्रेजी र नेपाली दुबै माध्यमबाट अध्यापन गराइने कार्कीको भनाई छ ।
पूरक परीक्षा दिने विद्यार्थीहरुलाई सहजकर्ता एवम् शिक्षकहरु रोमन बिक्रम कार्कीले विज्ञान र गणित, विष्णु अधिकारीले विज्ञान, बिदात गिरीले अंग्रेजी, अभिष्कार नेपालले गणित, आशिष शिवाले अर्थशास्त्र र लेखा), युवराज सिग्देलले गणित, बिबेक गौतमले गणित, थेसिस रुचालले सामाजिक र प्रबिन चापागाईले विज्ञान विषय पढाइ रहेका छन् ।
अतिरिक्त कक्षा मेचीनगर–१ स्थित युनाईटेड बोर्डिङ्ग स्कुल, मेचीनगर–२ स्थित भानु माध्यमिक विद्यालय, मेचीनगर–३ स्थित मेची जनसाधारण विद्यालय र मेचीनगर–४ स्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षाहरु सञ्चालन हुने बताइएको छ ।
Discussion about this post