मेचीनगर, २४ असार । गोमन सर्पले डसेर घाइते भएका सर्प उद्वारकर्मी मुन्ना कार्की एघार दिनपछि अस्पतालबाट डिस्चार्ज भएर घर आएका छन् ।
घाइते कार्कीको स्वास्थ्यमा सुधार भएपछि आज बिर्तामोड स्थित बिर्तासिटी अस्पतालबाट डिस्चार्ज गरेर घर ल्याइएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष एवम् सहयोगी देबेन्द्र खरेलले जानकारी दिए ।
यहि असार १४ गते कार्कीलाई घरमा दुईवटा बट्टाभित्र राखेको सर्पलाई अर्को बट्टामा परिवर्तन गरेर सुरक्षित स्थानमा लाने तयारी गर्दा गोमन सर्पले देब्रे हातको साइली औँलामा डसेको थियो ।
काँकरभिट्टा निवासी कार्कीसँगै रहेका खरेलले कार्कीलाई डस्ने वित्तिकै १२ मिनेटमा चारआली सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए ।
औँलाको घाउ भएको ठाउँमा मासु कुहिएको (नेक्रोसिस) भएकाले शल्यक्रिया गरिएको थियो ।
शरिरमा भएको विषलाई एन्टिबायोटिक औषधिले काम गरिसकेको बताए पनि औँलाको मासुसँगै हड्डीमा कुहिएको छ कि छैन भनेर एक्सरे गरिएको थियो ।
हड्डीको थप उपचारका लागि बिर्तासिटी लगिएको थियो । सर्पले डसेको औँलाको भागमा केहि सुधार आएपछि फलोअप गर्ने गरी अहिलेलाई अस्पतालले घर पठाएको खरेलले बताए ।
‘सर्पले डसेको एउटा औँलाको मासु सुक्दै गएकोले काट्नु पर्ने भएको छ’, डाक्टरको भनाई उध्रित गर्दै घाइते कार्कीले भने–‘औँलामा औँठी थियो । औँठी निकाल्न पाइन ।
औँठीले गर्दा विष तीनै जाम भयो । धेरै मात्रामा विष बाहिर सर्कुलर भएन । डाक्टरले फलोअपमा बोलाएको छ । डाक्टरको सल्लाह बमोजिम उक्त औँला काट्नु पर्नेछ ।’
आर्थिक अवस्था कमजोर कार्कीको उपचारका लागि खरेलले सहयोग संकलन गरेका थिए ।
खरेलले आफ्नो बैँकमा जम्मा भएको ६२ हजार १० रुपैयाँ, सुरुमा खरेलकै टिमले ५ हजार, बाहुनडाँगीका सन्दिप लुइँटेलबाट संकलन भएको २३ हजार रुपैयाँ कार्कीलाई बुझाएका थिए ।
Discussion about this post