सिक्किम, २९ असार । सिक्किमको राजधानी गान्तोकमा आज आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती मनाइएको छ ।
आज गान्तोकको भानु उद्यानमा आदिकवि भानुभक्तको पूर्णकदको शालिकमा सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यसहित राज्यका मन्त्रीहरुले माल्यार्पण गरेपछि कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि राज्यपाल आचार्यले भानुभक्तको रामायणको श्लोकहरु बाचन गरेका थिए ।
स्थानीय जात जाति र भाषा भाषीको पहिचानसहितको शोभायात्राले नेपाली प्राचीन शैलीको घरको झाँकी र नौमति बाजा अघि लगाएर गान्तोक सहर परिक्रमा गर्दा स्थानीयबासी उत्साहित थिए ।
भानु जयन्तीको अवसरमा गान्तोक पुरै सजाएर झकिझकाउ बनाइएको थियो । भानु उद्यानमा नेपाली साहित्य परिषद्ले राज्यस्तरीय समारोहको आयोजना गरेको थियो ।
कार्यक्रममा भारतको दार्जीलिङ, आसाम, कालिम्पोङ र नेपाल लगायतका स्थानबाट अतिथिहरु भरिभराउ थिए । नेपालबाट पत्रकारहरु मोहन काजी, अम्बिका भण्डारीको सहभागिता रहेको थियो ।
यसपालीको भानु जयन्तीको नारा “हाम्रो एकता, हाम्रो समृद्धि” रहेको परिषद्का महासचिव निलम न्यौपानेले बताइन् ।
भानु जयन्ती समारोह समितिका अध्यक्ष एवम् विधायक दिले नाम्ग्याल बर्फुङ्पाले स्वागत, परिषद्का महासचिव न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा परिषद्का उपाध्यक्ष नवीन लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए ।
Discussion about this post