झापा, २९ असार । नयाँ प्रधानमन्त्रीमा दावी पेश गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार नियुक्ति र सोमबार शपथ लिने भएका छन् ।
नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति नै ओलीले संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्री दावी पेश गरेका हुन् ।
पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दावी पेश गर्ने समय दिएका छन् ।
राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने भएको हो । ‘भोलि दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अघि बढ्छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नेछन् । ‘आइतबार अबेर हुने भएकाले सोमबार विहान ११ बजे शपथ लिने तयारी छ’, स्रोतको भनाई छ ।
ओलीले प्रधानमन्त्रीको शपथ लिए लगत्तै एमालेबाट विष्णुप्रसाद पौडेल र कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिनेछन् । सोमबार नै अरु मन्त्रीहरुलाई पनि शपथ गराउने तयारी भइरहेको छ ।
Discussion about this post