मेचीनगर, २९ असार । कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले कोशी प्रदेशको नामाकरण सहि भएको बताएका छन् ।
आज काँकरभिट्टामा भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आयोजना गरेको २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती कार्यक्रमका प्रमुख अतिथि कार्कीले यस्तो बताएका हुन् ।
ऋषिमुनीहरु बसेको पवित्र भुमि कोशीमा प्रदेशको नामाकरण गर्दा कोशी नाम राखिएकोमा कुनै पश्चताप नभएको मन्त्री कार्कीको दावी छ ।
कार्यक्रममा विशिष्ठ अतिथि रहेका भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मानित प्रा.डा.जगमान गुरुङले कोशी प्रदेश सबैको साझा हो, सबै जाति मिलेर बसेको बताएका थिए । गुरुङले कोशी प्रदेश ऋषिमुनीले बास गरेको पवित्र भुमि रहेको बताएका थिए ।
‘कोशीको नाममा अहिले पनि चुनौति छ’ मन्त्री कार्कीले भने—‘बहुभाषिक, बहुधार्मिक कोशीको पहिचान हो । संसद्का ९३ प्रतिशतले कोशीको नाम सहि राखेकोमा सन्तुष्ट भएको छु । प्रा.डा. गुरुङको भनाईले पनि पुष्टि गर्छ । अहिले मैले पनि सोचे ठिक नाम राखिएछ ।’
उनले भाषाको एकीकरण भानुभक्त आचार्यले गरेको बताए । उनका अनुसार भाषा, संस्कृति र साहित्य जोड्ने काम आचार्यले गरेका हुन् । राज्यले भानुजयन्ती मनाउनु पर्छ ।
उनले भने ‘सरकार अस्थिर छ । निर्वाचन प्रणाली परिवर्तन गरेर स्थिर सरकार नभएसम्म देश बन्दैन । पहिला हामी नेपाली हौँ । देश बनाउने अनि मात्र अरु कुरा सोच्नु पर्छ ।’ कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा.डा. गुरुङको विषयमा पत्रकार चन्द्र भण्डारीले चर्चा गरेका थिए ।
कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, इलाका प्रहरी कार्यालयका प्रमुख एवम् डीएसपी मिनबहादुर लामा, सशस्त्र प्रहरी काँकरभिट्टा गुल्मका प्रमुख एवम् डीएसपी राजेन्द्रप्रसाद श्रेष्ठले कविता बाचन गरेका थिए ।
Discussion about this post