झापा, १४ साउन । फुटबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी गम्भीर राईको निधन भएको छ ।
भद्रपुर–१० स्थित चन्द्रगढी निवासी ५६ वर्षीय पूर्व फुटबलर राईको बीएण्डसी अस्पताल बिर्तामोडमा आइतबार बेलुका उपचारका क्रममा निधन भएको हो ।
उनी लामो समयदेखि सुगरबाट पीडित थिए । सुगरको औषधि नियमित सेवन गरिरहेका थिए ।
राई १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए । उनी यु १६, यु १९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए ।
एनआरटी, जनकपुर चुरोट कारखाना, मनाङ मर्स्याङ्दी जस्ता चर्चित क्लबमा आबद्ध रहि अन्तर्राष्ट्रिय खेलमा तीन गोल पनि गरेका थिए ।
झापा जिल्ला फुटबल संघको उपाध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेका उनले ०५६ सालदेखि फुटबल खेलबाट संन्यास लिएका थिए । उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
फुटबल खेलको सुदृढीकरण र विकासमा महत्वपूर्ण योगदान पुराएको उल्लेख गर्दै भद्रपुर झापा गोल्डकपले २०७९ फागुन १७ गते उनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो ।
Discussion about this post