बिर्तामोड, १५ साउन । बिर्तामोड शहरको जनघनत्व दिनानुदिन बढ्दै गएको छ ।
विभिन्न जिल्लाबाट व्यापार गर्न बसाईसराई गरेर आउँनेको चाँप बढिरहेको छ । बिर्तामोड शहर पूर्वको एउटा मुख्य केन्द्रविन्दु नै भइसकेको अवस्था पनि छ । तर, यहाँ एउटा समस्या छ, शौचालयको ।
बिर्तामोड बजारमा व्यापार गर्नेहरुको कमि छैन । उनीहरुलाई शौचालयको समस्या पनि छैन । तर, पसलमा सामान किन्न आउँने ग्राहकहरुलाई शौचालयको सुविधा छैन । यो समस्या अहिलेको होइन वर्षौँ भयो । बिर्तामोड नगरपालिकामा जो जितेर आएपनि त्यो सुविधा उपलब्ध गराउन कसैले सकेनन् ।
कारण बिर्ताामोड क्षेत्रमा शौचालय निर्माण गर्ने जग्गा छैन । अघिल्लो पटककी उपमेयर यसपटक निर्वाचित मेयर पवित्रा महतारा प्रसाईको टिमले सार्वजनिक शौचालय निर्माणका लागि योजना ल्यायो ।
जग्गा खोजेर शौचालय बनाउने उनको पहिलै देखिको धोको अब पुरा हुन्छ भन्ने अपेक्षा आम नागरिकमा छ । उनले शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति समेत गठन गरिसकेकी छन् ।
मंगलबार मेयर प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न एक जना अमिनसहित चार सदस्यीय समिति गठन गरेको छ ।
वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको संयोजकत्वमा वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई, वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मा र अमिन सन्देश दाहाल सदस्य रहने गरी समिति गठन गरिएको हो ।
आगामी भदौ मसान्तभित्रमा जग्गा पहिचान गरि प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरिएको मेयर प्रसाईले जानकारी दिइन् । बिर्तामोडमा अहिलेसम्म सार्वजनिक शौचालय नहुनु चिन्ताको विषय भएको उनको भनाई छ ।
सार्वजनिक शौचालय निर्माणका लागि नगरपालिकालाई संघिय सरकारबाट १ करोड रुपैयाँ बजेट प्राप्त कार्यालयले जनाएको छ ।
नगरका प्रवक्ता एवम् समितिका संयोजक वडाध्यक्ष पाण्डेले सरकारी वा कुनै दाताको सहयोगमा जग्गा प्राप्तिका लागि कामअघि बढाइने बताए । कार्यपालिकाले दिएको समयभित्र काम सम्पन्न गर्ने गरी समितिअघि बढिरहेको उनले जानकारी दिए । ।
Discussion about this post