मेचीनगर, १६ साउन । मेचीनगर नगरपालिकाले पूर्वाधार उपभोग सेवा शुल्क उठाउने कार्यलाई हाल स्थगित गरेको छ ।
आज नगरपालिकामा बसेको छलफलले पूर्वाधार उपभोग सेवा शुल्कलाई वैज्ञानिक र व्यवहारिक बनाउने उदेश्यले मेचीनगर–७ का वडाध्यक्ष प्रल्लाहदमणि ओलीको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।
वडाध्यक्ष ओली संयोजक रहने गरी सदस्यहरुमा वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, राजश्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुली, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशोर), उद्योग उपाध्यक्ष भूमिराज पौडेल र कार्यकारी निर्देशक गोपाल वस्नेत रहेका छन् ।
समितिले ७ दिनभित्र सबैखाले सवारी साधानको लगत संकलन गर्नेछ । समितिका एक सदस्यका अनुसार पूर्वाधार उपभोग सेवा शुल्क न्युनतम र वार्षिक लिने गरीको तयारी भइरहेको बताइएको छ ।
बुधवार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सार्वजनिक सूचना जारी गर्दै अर्को निर्णय नभइञ्जेलका लागि कर असुली कार्य स्थगन गरिएको उल्लेख छ ।
सूचनामा ठेकेदारलाई दिइएको दररेट भन्दा फरक दररेटमा तथा तोकिएको स्थानभन्दा बाहेकका स्थानहरुमा पनि शुल्क असुली भएको भन्ने जनगुनासोलाई मध्यनजर गरी हाललाई शुल्क असुली स्थगन गरिएको छ ।
Discussion about this post