काँकरभिट्टा, १६ साउन । काँकरभिट्टा माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत रोशन मल्लिकले किर्ते हस्ताक्षर गरेर पैसा निकालेको आरोपमा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाले विद्यालयको किर्ते हस्ताक्षर प्रयोग गरेर चारलाख १८ हजार रुपैयाँ निकालेकोले अपाराधिक विश्वासघात कसुरमा मल्लिकलाई पक्राउ गरेको छ ।
मल्लिकले विद्यालयको नाममा रहेको खाताबाट प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको किर्ते हस्ताक्षर गरेर पटक–पटक गरी चारलाख १८ हजार रूपैयाँ निकालेको भेटिएपछि विद्यालयको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले पहिलो पटक नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखामा रहेको खाताबाट २०८० चैत ७ गते ४० हजार रुपैयाँ प्रधानध्यापक न्यौपाने र लेखापाल पाण्डेको किर्ते हस्ताक्षर गरेर निकालेको खुलेको छ ।
त्यसपछि पछिल्लो पाँच महिनामा २०औँ पटक सम्ममा उक्त चार लाख १८ हजार रुपैयाँ किर्ते हस्ताक्षर गरी निकालेको अनुसन्धानबाट खुलेको विद्यालयले जनाएको छ । चैत ७ गतेदेखि साउन ७ गतेसम्म २० पटक चेक काटेर पैसा निकालेको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार पाँच हजारदेखि बढीमा ४३ हजारसम्म किर्ते हस्ताक्षर गरी चेकबाट पैसा निकालेका थिए ।
सामाजिक परीक्षण गराउँनका लागि आर्थिक हिसाबकिताब समेत सार्वजनिक गर्नका लागि बैंकसँग हिसाव मिलान गर्दा २० वटा चेकको अद्र्धकट्टी हराएको, हराएका चेक नम्बरबाट रकम निकालिएको बैंक स्टेटमेन्टले देखाएपछि खोजी गर्ने क्रममा कार्यालय सहयोगी मल्लिकले खाली चेक चोरी गरी किर्ते हस्ताक्षर गरेर रकम निकालेको पाइएको विद्यालयको दावी छ ।
विद्यालयले मल्लिक विरूद्ध साउन १३ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टामा किटानी उजुरी दिए लगत्तै प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
Discussion about this post