झापा, २६ साउन । उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली)ले देशभरका अस्पतालहरुले विपन्न र असहाय विरामीको निःशुल्क उपचारका लागि दश प्रतिशत शैया उपलब्ध गराउनु पर्ने सरकारको नियम कार्यान्वयन गर्न माग गरेका छन् ।
आज काठमाडौंको लोकन्थलीमा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष भण्डारीले यस्तो कुरा राखेका हुन् ।
बैठकले देशभरका अस्पतालहरुमा विपन्न तथा असहाय विरामीको निःशुल्क उपचारका लागि १० प्रतिशत शैया उपलब्ध गराउनु पर्ने सरकारी नियमको कार्यान्वयनका लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने लगायतका निर्णय भएको छ ।
‘असहाय र विपन्नका लागि निःशुल्क उपचार गर्ने कानूनी व्यवस्था छ’, भण्डारीले भने–‘कार्यान्वयन भएको पाइँदैन । अस्पतालहरुले १० प्रतिशत शैया छुट्याउनै पर्दछ भन्ने हाम्रो माग हो ।’
अध्यक्ष भण्डारीले बजार स्वच्छताका लागि उपभोक्ता जागरुक र बिक्रेता जिम्मेवार हुनुपर्ने बताउँदै विद्यालय तहबाटै उपभोक्ता जागरण अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको बताए । वैठकले तेस्रो केन्द्रीय साधारणसभा झापामा आगामी भदौ २६ गते गर्ने निर्णय गरेको छ ।
केन्द्रीय अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको बैठकमा अभियानका झापा अध्यक्ष मोहन काजी, उपाध्यक्ष निलकण्ठ तिवारी लगायत केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post