मेचीनगर, ३ भदौ । धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर आधारभूत अस्पतालको रुपमा स्तरउन्नती गरिएको छ ।
मेचीनगर–१० स्थित धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई आइतबारदेखि थप सुविधासहित स्तरवृद्धि गरी नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याइएको हो ।
मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले विधिवतरुपमा नगर आधारभूत अस्पतालको उद्घाटन गरेका छन् ।
२ जना एमवीवीएस डाक्टरहरुबाट सेवा दिइरहेको उक्त केन्द्रमा अब ४ जना एमवीवीएस डाक्टरहरुबाट सेवा प्रदान गरिने अस्पतालले जानकारी दिएको छ ।
उपमेयर मीना पोखरेल उप्रेतीले नगरपालिकाले सबैको सहज पहुँचको लागि धुलाबारीमा विशेषज्ञ डाक्टरहरूबाट इमर्जेन्सी सेवासहितको स्वास्थ्य सेवा सञ्चालन गरिएको दावी गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले यो अस्पताललाई सफल बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी र नगरवासी लाग्नुपर्ने बताए ।
उनले अहिले सुरुवाती चरण भएकाले नगर अस्पतालमा सुविधा पर्याप्त नहुन सक्छ त्यसलाई क्रमश विस्तार गरिँदै लैजाने जानकारी दिए ।
उक्त अस्पतालमा अब ४ जना एमवीवीएस डाक्टर, इमर्जेन्सी सेवा, चौबीसै घण्टा प्रसुती सेवा, भिडियो एक्सरे सेवा, इसीजी, फार्मेसी लगायतका सेवा उपलब्ध हुने छन् ।
धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर आधारभूत अस्पतालको रुपमा ल्याउन ठुलो भूमिका खेल्ने वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले रु.५० रुपैयाँको पूर्जा काटेर एमवीवीएस डाक्टरहरुबाट सेवा लिन सकिने बताए ।
उनका अनुसार विहान ९ वजेदेखि ५ वजेको सेवालाई केहि समयपछि बढाएर हप्तामा ३ दिन एमडी डाक्टरबाट विरामीलाई सेवा दिइनेछ ।
केहि महिनापछि वडाले प्रादेशिक अस्पताल भद्रपुरसँग सहकार्य गरेर स्वास्थ्य बीमाबाहेक गरीव विपन्न नागरिकलाई निःशुल्क सेवा प्रदान गरिने उनले बताए ।
उद्घाटन कार्यक्रममा मेयर बुढाथोकी, उपमेयर उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अधिकारी, कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौला, वडाध्यक्ष खनाल, कार्यपालिका सदस्य रीता परियार लगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।
यसअघि मेचीनगर–१५ मा नगर आधारभूत अस्पताल बनाउन संघीय र स्थानीय सरकारले बजेट समेत विनियोजन गरेर ठेक्का लगाइएको थियो । अस्पताल बनाउन सुरु पनि गरियो । तर, भवन निर्माण अलपत्र पारेर ठेकेदार वेपत्ता भएको थियो ।
विभिन्न प्राविधिक र कानूनी जटिल्ताका कारण देखाएर नगरपालिकाले धुलाबारी स्वास्थ्य केन्द्रलाई नै अन्तिममा नगर आधारभूत अस्पताल बनाउन बाध्य भएको छ ।
Discussion about this post