झापा, ४ भदाै । एकीकृत समाजवादी(एस) पार्टीका ६७ जना नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गरेपछि त्यस दलभित्र खैलाबैला मच्चिएकाे छ ।
एसका झापा अध्यक्ष बेदराज रेग्मीले आज एक प्रेस विज्ञप्ति जारी गरेर पार्टीका पूर्व केन्द्रिय परिषद सदस्यद्धय राजेन्द्र दाहाल, मणिकुमार भण्डारी, निवर्तमान दमक नगर कमिटी अध्यक्ष रोशन भण्डारी र पूर्व अध्यक्ष महेश घिमिरेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको उल्लेख गरेका छन् ।
उनीहरूले आजै दमक स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाकाे सभाहलमा पत्रकार सम्मेलन गरेर एस पार्टी छाडेर एमालेमा प्रवेश गरेकाे जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा एमले प्रवेश गर्नेहरूमा नेता भण्डारी, दाहाल, जिल्ला सदस्यहरु चन्द्रकला भण्डारी, शसीराज पौडेल, तोया सापकोटा, हरिकृष्ण पौडेल, खगेन्द्र बाह्रकोटी, राम लुईटेल, चन्द्रमणी अधिकारी रहेका छन् ।
त्यस्तै समाजवादी निकट अनेरास्वीयु केन्द्रीय सचिवालय सदस्यहरु रोशन भण्डारी, मदन गुरुङ, समाजादीकै नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य उमेश चम्लागाई, समाजवादी पार्टीको दमक नगर सचिवालय सदस्य चन्द्रमणी थापा, खेलकुद महासंघ झापा कोषध्यक्ष सुदिप सागर भटराई (सौरव), अनेरास्वियु दमक क्याम्पस समिति पूर्व अध्यक्ष आयुष्मान पोखरेल, अखिल फोर्स दमक नगर संयोजक रतन चाम्लिङ्ग राई, सहसंयोजक सागर ढकाल(सावन) अनेमसंघ नगर सदस्यहरु जमुना लिम्वू र रेनुका ढुंगाना दाहाल, समाजवादीकै अखिल फोर्स नगर संयोजक रतनको नेतृत्वमा नगर समितिका १७ जना,अनेरास्वियु दमक क्याम्पस समितिका अध्यक्ष रविन अधिकारी सहित १५ सदस्य र तोया सापकोटाको अगुवाईमा कमल गाउँ घर भएका समाजावादी जिल्ला समिति सदस्य र पार्टी सदस्य १६ जना समाजवादी पार्टी छोडेर एमाले प्रवेश गरेको एमाले दमक नगर अध्यक्ष राम पौडेलले जानकारी दिए ।
भण्डारी र दाहालकाे नेतृत्वमा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेपछि झापा एस पार्टीभित्र हलचल मच्चिएको हाे ।
विज्ञप्तिमा पार्टीको हालै सम्पन्न १० औ राष्ट्रिय महाधिवेशनपछि दमकमा छुट्टै गुट निर्माण गरी पार्टीका संगठीत सदस्यहरुलाई विभिन्न प्रलोभन देखाएर आफनो व्यक्तिगत स्वार्थमा लिप्त भएको लगायतका पार्टी हित विपरीत गतिविधि गरेको पाईएपछि आजकै मितिदेखि साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको अध्यक्ष रेग्मीले उल्लेख गरेका छन् ।
एस पार्टी छोडेर घर फर्किएकाहरुलाई एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओली, केन्द्रीय सदस्य दिपक कार्की लगायतले स्वागत गरेका थिए ।
पार्टी प्रवेशको अगुवाई गरेका नेता दाहालले कार्यक्रममा हिजो हावाहुरी आएको वेला एमाले छोडेर गए पनि अव एसको भविष्य नरहेको हुँदा माउ पार्टीमा समाहित भएको बताए ।
एमाले पार्टीको निर्वाचन क्षेत्र न.५ लाई सुदृढ र एकताबद्ध बनाउने उद्धेश्यले विधानत पार्टी सदस्यता नविकरण गर्ने, सदस्यता प्राप्त गर्नेलाई योग्यता र क्षमताको आधारमा उपयुक्त जिम्मेवारी दिने सहमति भएको उनले जानकारी दिए ।
एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज ओलीले उनीहरूलाई योग्यता र क्षमताको आधारमा सम्बन्धित पार्टी तहको नेतृत्वले जिम्मेवारी दिने दावी गरेका छन् ।
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा निर्वाचन क्षेत्र न. ५ बाट हिजोको दिनमा भुलवस एसमा गएका नेता तथा कार्यकर्ताहरू धमाधम एमालेमा प्रवेश गर्न थालेका छन् ।




Discussion about this post