धुलाबारी, १८ भदौ । मेची उद्योग बाणिज्य संघको आयोजनामा बैंक तथा वित्तीय क्षेत्रमा उद्यमी, व्यवसायीहरुले सहज कर्जा प्राप्त गर्ने प्रक्रियागत आधारहरुका विषयमा एकदिवसीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा ‘वित्तीय क्षेत्रमा व्यवसायीहरुको सहज पहुँच’ विषयक वित्तीय साक्षरता कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेड काँकरभिट्टा शाखाले सहजीकरण गरेको हो ।
कार्यक्रममा माछापुच्छ्रे बैंक काँकरभिट्टा शाखाका प्रमुख केदार ढकाल र कर्मचारी किरण बरालले सहजीकरण गरेका थिए ।
व्यवसायीहरुले बैंकबाट ऋण खाँदा व्यहोर्नु पर्ने झन्झटिलो प्रक्रियाका बारेमा उठाएका समस्या र गुनासाका बारेमा बैंकका प्रमुख ढकालले प्रष्ट पारेका थिए ।
कार्यक्रममा बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, उपाध्यक्ष निर्मला चौहान भण्डारी, मेची चेम्बर अफ कमर्सका अध्यक्ष रविन वस्नेत, उद्यमी महिला जानुका ओली लगायतले बैंकबाट व्यवसायीलाई हुने समस्या र सुझावहरु राखेका थिए ।
साना तथा मझौला व्यवसाय गर्ने महिला उद्यमीहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा बैंकका शाखा प्रमुख ढकालले पानमा दर्ता भएका, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका साना, मझौला र ठुला व्यवसायीहरुलाई कर्जा प्रवाह गरिरहेको बताए ।
उनका अनुसार व्यवसाय, पुँजी, सो लगानी हेरेर ७० प्रतिशतसम्म लगानी गरिन्छ । पानबाहेक घरेलुमा दर्ता गरेर व्यवसाय गरेका उद्यमीहरुको लगानी हेरेर सोही अनुसार चार गुणासम्म कर्जा दिन सकिने उनको भनाई छ ।
कार्यक्रममा कर्मचारी बरालले ग्राहकले बैंकमा पैसा राख्दाको फाइदा र वेफाइदाका विषयमा प्रोजेक्टर मार्फत प्रस्तुतिकरण दिएका थिए ।
उनले अहिले बैंकमा पैसा राख्नु भनेको घर वा गोजीमा राख्नु जतिकै भएको दावी गरे । मोवाइल बैंकिङका कारण सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलव, रेमिट्यान्स लगायतका ग्राहकले जम्मा गरेको पैसा एटीएम, क्युआर कोर्ड लगायतको डिजिटल बैंकले वित्तीय कारोवारलाई सहज बनाइदिएको उनको भनाई छ ।
तर यसको वेफाइदाको पक्ष पनि रहेको छ । जस्तो साइबर ह्याक, पासवार्ड, ओटीपि, भाइरस, शंकास्पद एप्स्, लोटरी, सेक्युअर एचटिटिपीएस, हुण्डी कारोवार लगायतका कारण जोखिम बढेकोले ग्राहकलाई सजक रहन बरालले सचेत गराएका थिए ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा सपन्न कार्यक्रमको स्वागत महिला उपाध्यक्ष निर्मला चौहान भण्डारीले र सञ्चालन कार्यलय प्रमुख गोपाल वस्नेतले गरेका थिए ।
भिडियो पनि हेर्नु होला ।
Discussion about this post