बिर्तामोड, २६ भदौ । इलामको दानावारीबाट किसानले बिर्तामोड स्थित कृषि थोक बजारमा बिक्रीका लागि ल्याएको काँचो केराको घरीमा विषादी भएको पत्तो लागेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत बिर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा आज विहान दानावारीका कृषक कमल मगरले ल्याएको ७० घरी काँचो केराको तीन वटा नमुना परीक्षण गरिएको थियो ।
तीन वटा नमुनामध्ये दुई नमुनामा कार्बामेट किटनाशक विषादीको उच्च मात्रा फेला परेको प्रयोगशालाकी प्राविधिक अम्बिका बोहोराले दावी गरिन् ।
उनका अनुसार काँचो केराको दुई वटा नमुनामा कार्बानेटको रोकावट प्रतिशत ५२.८५ र ५३.११ पुष्टि भएको छ । अर्को एक नमुनामा भने ४४.७६ प्रतिशत कार्बानेट भेटिएको छ ।
तरकारी तथा फलफूलमा कार्बानेटको रोकावट प्रतिशत ४५ भन्दा उच्च फेला परेमा उपभोग अयोग्य ठहरिने हुँदा त्यसलाई नष्ट गरिनु पर्ने उनले बताइन् ।
विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भेटिएको तरकारी तथा फलफूललाई केही दिन क्वारेन्टाइनमा राखेर पर्खेर हेर्नुपर्ने उनको भनाई छ ।
काँचो केराको विषादी अवशेष जाँच गर्दा अर्गानो फस्फेट किटनाशक विषादीको मात्रा समेत उच्च पाइएको छ । अर्गानो फस्फेटको मात्रा २७ देखि ३५ प्रतिशतसम्म फेला परेको छ ।
बिर्तामोड नगरपालिकाका उपमेयर तथा अनुगमन समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलाले उपभोग अयोग्य पुष्टि भएका तरकारी तथा फलफूललाई नष्ट गरिने र पर्खेर हेर्नुपर्ने भएमा कृषि थोक बजारकै क्वारेन्टाइनमा केहीदिन राखेर पुनः विषादी अवशेष परीक्षण गरिने बताए ।
केहीदिनअघि कृषि थोक बजारमा बेच्न ल्याइएको लट्टे सागमा पनि खान अयोग्य हुने गरी विषादीको अवशेष पुष्टि भएको थियो ।
Discussion about this post