मेचीनगर, ७ कात्तिक । आयोजक ईटाभट्टा फुटबल क्लब शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
मेचीनगर–८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम ईटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको आज भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइब्रेकरमा ३–२ गोल अन्तरले शनिश्चरेलाई हराउँदै आयोजक फाइनलमा पुगेको हो ।
अत्यन्तै रोमाञ्चक बनेको खेलमा सुरूवाती अग्रता भने शनिश्चरेले लिएको थियो । शनिश्चरेका सौरभ लिम्बूले खेल सुरू भएको दोस्रो मिनेटमा नै गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, पहिलो हापको ३७ औँ मिनेटमा आयोजकका निशान्त लिम्बूले गोल गर्दै टिमलाई बराबरीमा पुर्याए ।
दोस्रो हापको ४१ औँ मिनेटमा सौरव लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता पुनः कायम राखे । तर त्यतिले मात्रै शनिश्चरेको जित सम्भव भएन ।
आयोजकका रविन राईले खेलको ५९ औँ मिनेटमा गोल गर्दै बराबरी बनाए । खेलको निर्धारित समयमा दुवै टिमबाट समान २–२ गोल भएपछि नतिजा ट्राइब्रेकरबाट लिइएको थियो । जसमा आयोजक भाग्यमानी सावित भयो ।
ट्राइब्रेकरमा आयोजकको तर्फबाट निशान लिम्बू, नितेश राई र महेन्द्र कार्कीले गोल गर्दा शनिश्चरेको तर्फबाट सौरभ लिम्बू र पुजन श्रेष्ठले गोल गरे । आजको खेलमा उत्कृष्ट प्रदर्शनी गर्दै टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका आयोजकका गोल किपर युवराज पुरी घोषित भए । उनले नगद २ हजार एकसय रूपैयाँ प्राप्त गरे ।
अब आयोजकले ह्याप्पी क्लब काँकरभिट्टासँग उपाधिका लागि कात्तिक ९ गते खेल्ने आयोजक ईटाभट्टा फुटबल क्लबका अध्यक्ष मनकुमार लिम्बूले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५१ हजार १११ सहित आकर्षक ट्रफी पाउने छ ।
प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीले नगद २ हजार एक सयसहित ट्रफी प्राप्त गर्दा विधागततर्फ पुरस्कृत खेलाडीले जनही ५–५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छन् ।
Discussion about this post