इलाम, ९ कात्तिक । दोस्रो गोरख भेट्रान्स कप फुटबलको उपाधिका लागि पूर्वेली भेट्रान्स बिर्तामोड र दमक लखनपुर भेट्रान्स दमक भिड्ने भएका छन् ।
आज सम्पन्न सेमिफाइनल खेलमा बिजय हासिल गर्दैै बिर्तामोड र दमक उपाधिको लागि भिड्ने भएका हुन् ।
पहिलो सेमिफाइनल खेलमा बिर्तामोडले बरमियोक नाम्पिङ सिक्किमलाई ४–३ र दोस्रो सेमिफाइनलमा दमकले युएफसी बुङ्कुलुङलाई १–० ले हराएको हो । सुरुवाती ३–० को अग्रता जोगाउन नसक्दा सिक्किम अन्तिम चारबाट पराजित भएको हो ।
खेलको तेस्रो मिनेटमा दावा भोटियाले सिक्किमलाई अग्रता दिलाए । ८ औँ मिनेटमा दावाले अग्रता दोब्बर बनाए । १७ औँ मिनेटमा तेन्जिङ भोटियाले ३–० गोल अन्तर बनाए ।
२२ औँ मिनेटमा प्रेम लिम्बुले गोल अन्तर कम बनाए । पहिलो हाफमा ३–१ को अग्रता बनाएको सिक्किमले दोस्रो हाफमा थप ३ गोल व्यहोर्न पुग्यो । दोश्रो हाफको ७ औँ मिनेटमा लिम्बुले गोल अन्तर ३–२ बनाए । ४औँ मिनेट नवित्दै सन्तोष राईले गोल गर्दै खेल बराबरी गरे ।
इन्जुरी समयमा कर्ण लिम्बुले कर्नरबाट गरेको प्रहारलाई लिम्बुले जाली चुमाउँदै ह्याट्रिक पुरा गरे । ह्रयाट्रिक गरेका लिम्बु म्यान अफ दि म्याच घोषित भए । उनलाई जिल्ला समन्वय समिति इलाम नगरपालिकाकी उपमेयर चित्रकला बराइलीले ट्रफी प्रदान गरिन् ।
त्यसैगरी दोस्रो सेमिफाइनलमा विकास राईले निर्णायक गोल गरेपछि दमकले फाइनलमा स्थान बनाएको हो । दोस्रो हाफको १५ औँ मिनेटमा उनले गोल गरेका थिए ।
अग्रता बनाएको ३ औँ मिनेट नवित्दै दमक ६ खेलाडीमा सिमित भएको थियो । स्ट्राइकर सुवास आङथुपो रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । म्यान अफ दि म्याच निर्णायक गोलकर्ता राई घोषित भए । फाइनल खेल कात्तिक १० गते हुनेछ ।
गोरख भेट्रान्स कपका संरक्षक राजु बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपमेयर चित्रकला बराइलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि उपमेयर बराइली, सन्दकपुर खेलकुद विकास समितिका अध्यक्ष रुपेन्द्रराज नेम्वाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गोरख टोल विकास संस्था सूर्योदय नगरपालिका–५ समालबुङ को आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा भएको प्रतियोगिताको विजेताले ७० हजार र उपविजेताले ३५ हजार नगद पाउने छन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
Discussion about this post