झापा, १३ कात्तिक । नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको केन्द्रीय बैठकले प्रदेश सरकारले संघियताको कार्यान्वयनका क्रममा लामो समयदेखि थाति रहेको स्थानीय सेवा ऐन जारी गरेकोमा धन्यवाद दिएको छ ।
यहि कात्तिक ९ र १० गते महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित महोत्तरी जिल्ला समन्वय समितिको सभाहलमा बसेको एशोसिएशनको पाचौँ केन्द्रीय बैठकले स्थानीय सेवा ऐन जारी गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिएको हो ।
बैठकले विगतदेखि माग गरेका ऐनमा छुट भएका विषयहरु स्थानीय कर्मचारीहरु प्रदेश स्तरमा निवृत्तीभरण तथा उपदान कोष स्थापना, ट्रेड युनियन अधिकार, अस्थायी करारका कर्मचारी सामान्य प्रकृयाबाट स्थायी गरिनुपर्ने माग गरेको नेपाल नगरपालिका कर्मचारी एशोसिएशनका कोशी प्रदेश अध्यक्ष त्रिलोचन पौडेलले जानकारी दिए ।
त्यस्तै स्थानीय सेवा ऐन बमोजिम बढुवा वा तहबृद्धि भएको कर्मचारीहरुको जेष्ठता बढुवा वा तहबृद्धि हुनु अघिको पदमा नियुक्ति वा बढुवा भएको मितिदेखि नै कायम गर्नुपर्ने जस्ता मागहरु ऐन संशोधन मार्फत समावेश गर्न एशोसिएशनले माग गरेको उनले बताए ।
संस्थाको सांगठनिक सवलिकरण अभियान अन्तर्गत २०८१ फागुनभित्र बाँकी रहेका प्रदेशहरुको प्रदेशस्तरिय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने वैठकले निर्णय गरेको छ । आगामी चैतमा धनकुटामा राष्ट्रिय परिषद् बैठक सम्पन्न गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा संगठनलाई थप सशक्त र क्रियाशील बनाउन हाल केन्द्रीय समितिमा रिक्त ६ सदस्य पदमा मनोनित गर्दै इकाई समिति गठन हुन बाँकी रहेका पालिकाहरुमा गठन गर्न सम्बन्धित प्रदेश समितिलाई कार्यतालिका बमोजिम जिम्मेवारी समेत तोकेको छ ।
बैठकले लामो समयदेखि संसदमा विचाराधिन रहेको संघीय निजामती सेवा ऐन चाँडो सम्बोधन गर्न सरकारसँग एशोसिएशनले माग समेत गरेको छ ।
पूर्ण बैठकको अध्यक्षतामा नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका केन्द्रीय अध्यक्ष डम्बर रोंगुले गरेका थिए । बैठकमा जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सोहि पालिकाका उपमेयर रोशन खातुन, प्रमुख प्रशासकीय अधिकृत जयकुमार शाह, मनोहरा शिसुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शाह लगायतको सहभागिता रहेको थियो ।
संगठनको मधेश प्रदेश समितिको व्यवस्थापनमा भएको उक्त कार्यक्रमको स्वागत उपाध्यक्ष जमुना भुजेलले र सञ्चालन महासचिव सितुप्रसाद श्रेष्ठले गरेका थिए ।




Discussion about this post