खुदुनाबारी, २९ कात्तिक । मेचीनगर नगरपालिका अर्जुनधारा–३ स्थित खुदुनाबारीमा जारी चौथो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आजको दोस्रो क्वाटरफाइनल खेलमा इलामको माई नगरपालिकालाई ८–१ गोल अन्तरले पाखा लगाउँदै मेचीनगर नगरपालिका प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
सुरूवाती चरणदेखि माइ नगरपालिकामाथि हावी भएको मेचीनगरले खेलको पहिलो हापमा नै ३ गोल गरेको थियो ।
मेचीनगरको तर्फबाट खेलको २३ औं मिनेटमा कप्तान खमिर गिल्सन कन्दङ्गवाले गोल गर्दा २५ औं मिनेटमा सनम भुजेलले गोल गरे । त्यस्तै पहिलो हापको अतिरिक्त समयमा सनम भुजेलले थप एक गोल गरे ।
यता माइ नगरपालिकाले भने पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा कमजोर प्रस्तुति रह्यो ।
दोस्रो हापको सुरूवाती समयमा खेललाई सुधार्दै लयमा फर्काउने प्रयास गर्दै माई नगरपालिकाको तर्फबाट कप्तान सुजन नेम्वाङले ४३ औं मिनेटमा एक गोल गरे । तर, त्यसपछि पुनः मेचीनगरका खमिर गिल्सनले ४५ औं मिनेटमा फेरि दोस्रो गोल गरे, अरुण मेचेले खेलको ५१ औं मिनेटमा एक गोल लगाए । त्यस्तै सनम भुजेलले खेलको ७५ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरे ।
निर्धारित समय पुरै आफ्नो पक्षमा पारेको मेचीनगरले दोस्रो हापको पाँच मिनेटको अतिरिक्त समयमा समेत थप दुई गोल थप्यो । अतिरिक्त समयमा मेचीनगरका सनम भुजेल र अरूण मेचेले थप एक–एक गोल गरे ।
मेचीनगरका लागि ४ गोल गरेका सनम भुजेल खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाए । उनलाई प्रतियोगिताका संयोजक सिताराम भट्टराई, प्रमुख अतिथि मदनबिक्रम नेम्वाङ र नगर खेलकुद विकास समिति अर्जुनधाराका अध्यक्ष सुरेन्द्र धिमालले पुरस्कार प्रदान गरे ।
भोलि तेस्रो क्वाटरफाइनल खेल बिर्तामोड र गौरादह नगरपालिकाबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
फाइनल खेलको विजेताले १ लाख ११ हजार २ सय ११ र उपविजेताले ५५ हजार ६ सय ५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ । प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
अर्जुनधारा नगरपालिका–१, २ र ३ नम्बर वडाले संयुक्त रुपमा कैदले प्राकृतिक रंगशालामा आयोजना गरेको अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल मंसिर ५ गते हुने छ ।
Discussion about this post