अर्जुनधारा, ५ मंसिर । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ ।
आजको फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २–० को गोल अन्तरले हराउँदै मेचीनगरले उपाधि हात पारेको हो ।
अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा आज सम्पन्न भएको गोल्डकपको फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै मेचीनगरले उपाधि जित्यो ।
मेचीनगरलाई जित दिलाउन लक्षु थापाले २ गोल गरे । उनले खेलको २६ औं र ३६ औं मिनेटमा गोल गरेका थिए । गोल्डकपको विजेता मेचीनगरले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र पुरस्कार पायो । उपविजेता बनेको शिवसताक्षीले नगद ५५ हजार ६ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
शिवसताक्षीका निकेश श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले नगद १० हजार र ट्रफि पुरस्कार पाए । मेचीनगरका विशाल दर्जी उत्कृष्ट डिफेन्डर, मेचीनगरकै सनम भुजेल सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगितामा ७ गोल गरेका थिए ।
मेचीनगरका युवराज पुरी उत्कृष्ट गोलकिपर, मेचीनगरका टिम कोच सचिन्द्र धिमालले बेष्ट कोचको पुरस्कार हात पारे । त्यस्तै आयोजक टिमका सौरव विक प्रतियोगिताको उदयीमान खेलाडी घोषित भए । उनीहरु सबैले जनही नगद ७ हजार र ट्रफि पुरस्कार पाए ।
फाइनल खेलको नायक बनेका लक्षु थापाले बेस्ट प्लेयर अफ दि फाइनलको पुरस्कार पाए । उनले नगद ५ हजार र ट्रफी हात पारे
विजेता, उपविजेता र विधागत पुरस्कार पाउने खेलाडीहरुलाई प्रतियोगिताका संयोजक सिताराम भट्टराई, अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा–१ का वडाध्यक्ष उपेन्द्र बस्नेत, अर्जुनधारा–२ का वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, शिवसताक्षीका मेयर मेगाहाङ थोप्रा (रोशन), झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, प्रतियोगिताका खेल संयोजक धनबहादुर तामाङ, आर्थिक संयोजक डुण्डीराज गौतम लगायतले पुरस्कार वितरण गरेका थिए ।
खेलकुदको विकासमा सक्दो सहयोग गर्छु : सभामुख घिमिर
समापन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले खेल, खेलाडी र यो मैदानको विकासका लागि सक्दो सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा सभामुख घिमिरेले खेल क्षेत्र र खुदुनाबारीको समग्र विकासका लागि योग्दान गर्ने व्यक्तिहरु मदन बिक्रम नेम्वाङ, कर्मेन्द्र बिक्रम नेम्वाङ, राजेन्द्रबहादुर गौतम, गोबिन्दराज काफ्ले र युवराज महतलाई सम्मानगरेका थिए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देन सिंह तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अर्जुनधारा नगरपालिका–१, २ र ३ नम्बर वडाको संयुक्त आयोजना चौंथो खुदुनाबारी गोल्डकप भएको हो ।
Discussion about this post