मेचीनगर, ६ मंसिर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले कर दिवसकाे अवसरमा आज धुलाबारीमा आयोजना गरेकाे कर शिक्षा कार्यक्रममा व्यापारीहरूले पसल-पसलमा आएर कर दातालाई शिक्षा दिन अनुराेध गरेका छन् ।
बिहीबार मेची उद्योग बाणिज्य संघकाे सभाहलमा राजस्व कार्यालयले कर दिवस तथा कर सप्ताह अन्तरगत कर शिक्षा कार्यक्रममा उद्योगी-व्यवसायीहरूले कर कार्यालय, नगरपालिका र बाणिज्य संघहरूले करका बारेमा व्यापारीकाे पसल-पसलमा आएर बुझाउन आग्रह गरेका हुन् ।
राजस्व कार्यालयका कर अधिकृत ज्ञानेन्द्रबहादुर राई आर्थिक ऐन २०८१ ले व्यवस्था गरेकाे विशेष छुट तथा सहुलियतहरूका विषयमा उद्योगी-व्यवसायीहरूलाई जानकारी गराएका थिए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका राजस्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले आगामी पुसदेखि व्यवसायी दर्ता अभियान चलाउने जानकार दिए ।
स्थानीय सरकारले पटके कर नउठाएर कानुनले दिएकाे अधिकारभित्र रहेर नगरकाे मुख्य र सहायक सडकमा पूर्वाधार उपयाेग शुल्क लिएको स्पष्ट पारेका थिए । व्यवसायी र उद्योगीका नेताहरूले मिससमेच, भिसिटिएस, भ्याट, पान, पटके कर लगायतका करका विषयमा गुनासा र सुझाव राखेका थिए ।
कार्यक्रममा उद्योग उपाध्यक्ष भूमि पाैडेल, महिला उपाध्यक्ष निर्मला चाैहान भण्डारी, पूर्व महासचिव ध्रुब कनाल, सदस्य सन्ताेष खवास, व्यवसायी माधव गिरी तथा महिला उद्यमी लगायतले समस्याका बारेमा कुरा उठाएका थिए । व्यवसायीका जिज्ञासाहरूलाई कर अधिकृत राई, चिरञ्जीवी काफ्ले लगायतले जवाफ दिएका थिए ।
मेची उद्योग बाणिज्य संघकाे सहजीकरण रहेकाे कार्यक्रमकाे अध्यक्षता वरिष्ठ उपाध्यक्ष किशाेर क्षेत्री (कपिल) ले र महासचिव दिनेश शाक्यले सञ्चालन गरेका थिए ।
Discussion about this post