मेचीनगर, ६ मंसिर । नकलबन्दा चिया बगानले ओगेटेको १० विघा भन्दा बढी सरकारी जग्गामा आज मेचीनगर नगरपालिकाले डोजर चलाएको छ ।
बिहीबार मेचीनगर–५ स्थित १२ नम्बर, १६ नम्बर र १९ नम्बर गाउँको नकलबन्दा टि स्टेटले उपभोग गरेको १० विघा ५ कठ्ठा ७ धुर भन्दा बढी सरकारी जग्गा नगरपालिकाले डोजर लगाएर खाली गर्न सुरु गरेको हो ।
मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा दलबलसहित गएको टोलीले १२ नम्बर गाउँको चिया बगानले ओगेटेको जग्गामा डोजर लगाएर सूचनासहितको व्यानर टासिएको छ ।
मालपोत कार्यालय झापाले २०४८ असोज २५ गते छुट जग्गा निर्णयबाट दिनेशप्रसाद कानुको नाममा रहेको कि.न. २३१, २३२, ३७०, ३७१, ३७२, ३७३, ३७५, ३७६, ३७७, ३७८, ३७९, ३८०, ३८१, ३८२, ३८३, ३८५, ३८६, ३८७, ३८९, ३९०, ३८४ र ३९० का कुल १० विघा ५ कठ्ठा ७ धुर जग्गाहरु २०५५ असोज ११ गते नकलबन्दा टि स्टेटका नाममा बिक्री गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँले २०६६ मंसिर २२ गतेको निर्णयबाट नकलबन्दा टि स्टेटको नाममा रहेका उक्त जग्गाहरु बदर गरी नेपाल सरकारको नाममा रहेको सम्बन्धीत पक्षलाई र मेचीनगरलाई २०८० साउनमा जानकारी गराएको थियो ।
सोही अनुसार मेचीनगरले नकलबन्दा टि स्टेटका सञ्चालकलाई २०८१ असोज २ गते उक्त जग्गाहरु खाली गर्न पत्रचार गरेको थियो ।
मेयर बुढाथोकीले बगानको मालिकलाई जग्गा खाली गर्न समय दिएको बताए । तर, समयमा जग्गा खाली नगरेपछि आज सार्वजनिक रुपमा नगरपालिकाको संरक्षण र सुरक्षामा रहेको घोषणा गरेको उनको भनाई छ ।
नकलबन्दा टि स्टेटका कर्मचारीका अनुसार सञ्चालक स्व.दिनेश कानुका छोरा बिक्की कानुले नगरपालिकासँग आगामी पुस मसान्तसम्म समय मागेको बुझिएको छ ।
मेयर बुढाथोकीको नेतृत्वमा दलबलसहित आएको टोलीमा उपमेयर मीना पोखरेल उप्रेती, ५ का वडाध्यक्ष कनक कार्की, १ का रामकुमार राई, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, ७ का वडाध्यक्ष प्रह्लादमणि ओली, ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ, १० का वडाध्यक्ष नारायण खनाल, ११ का रुद्र डाँगी, कार्यपालिका सदस्यहरु चित्र धिमाल लगायत जनप्रतिनिधिहरु, नगरप्रहरी, स्थानीय मजदुर नेता र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
Discussion about this post