मेचीनगर, १० मंसिर । अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा मेचीनगर नगरपालिकाले आज काँकरभिट्टा बजारमा प्रभातफेरिसहितको र्याली निकालेको छ ।
मेचीनगर नगरपालिकाको अगुवाईमा नगरका विभिन्न सामाजिक संघ संस्थाहरुको सक्रिय सहभागितामा प्रभातफेरिसहितको र्याली गरिएको हो । र्यालीपछि कोणसभामा परिणत भएको थियो ।
कोणसभामा मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष एवम् सामाजिक अभियन्ता राधा प्रधान कार्की, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी मिमबहादुर लामा लगायतले महिला हिंसा सबै मिलेर अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् ।
प्रभातफेरि कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीको पनि उपस्थिति रहेको थियो । प्रभातफेरि कार्यक्रममा नगरभित्रका सरकारी तथा गैर सरकारी सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको थियो ।
‘हामी सबैको प्रतिवद्वताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्वता’ नारासहित नगरपालिकाले प्रभातफेरि गरेर आजदेखि १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरेको छ ।
कार्यक्रमको सञ्चालन नगरपालिकाकी महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।
Discussion about this post