बिर्तामोड, १० मंसिर । बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईले लागूऔषधमा फसेर समाजका धेरै युवाहरुको जीवन बर्बाद भएको बताएकी छन् ।
आज बिर्तामोड नगरपालिका–६, बुट्टाबारी स्थित सरस्वती माध्यमिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन र मादक पदार्थ सेवन विरुद्द सचेतनामुलक कार्यक्रम’ मा उनले यस्तो कुरा बताएकी हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी मेयर प्रसाईले लागूऔषध, मादकपदार्थ तथा सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि समाजका सबै वर्ग जागरुक हुनु पर्नेमा जोड दिएकी छन् ।
उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले समाजमा अवाञ्छित गतिविधि गर्ने व्यक्तिहरुदेखि टाढा रहन सबैलाई सचेत रहन आग्रह गरेका छन् ।
उनले बिर्तामोडमा लागूऔषधको भयाबह अवस्था रहेकोले कुनै पनि प्रकारका गतिविधि गरेको देखिए प्रहरीलाई खबर गर्न अनुरोध गरे ।
कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले लागूऔषधका कारण युवाहरु बिग्रदै गएकोले अभिभावकले निगरानी गर्नु पर्ने बताए । उनले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने सडकको लगानीकर्ता वल्ड बैंकलाइ धन्यवाद समेत दिए ।
सहभागीहरुलाई सामाजिक अभियन्ता सोमराज ढकालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका बरिष्ठ योजना अधिकृत जय तिम्सिना, आयोजनाका टिम लिडर भुवनेश्वर देबले लागूऔषध नियन्त्रणमा सबै जनाको सहकार्य हुन जरुरी रहेको बताए ।
कार्यक्रममा मनकामना कलेजका ब्याचलर अफ सोसियर वर्क (बिएसडब्ल्यु)मा अध्ययनरत विद्यार्थीहरुले जनचेतनामुलक ‘पेन्टोमाइम शो’ प्रस्तुत गरेका थिए । कार्यक्रमअघि सहभागीहरुले प्लेकार्ड बोकेर र्यालीसमेत गरेका थिए ।
निर्माणधिन बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा सडकमा काम गर्ने प्राविधिक, मजदुर, शिक्षक र विद्यार्थीको सहभागितामा जनचेतना मुलक कार्यक्रम गरिएको हो ।
निर्माण व्यवसायी मनोज उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत समाजसेवी ध्रुव उप्रेतीले र सञ्चालन विजय तिम्सिनाले गरेका थिए ।
Discussion about this post