मेचीनगर, २२ मंसिर । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले लैंगिक हिंसा गर्ने कार्य समाजको कुरीति रहेको बताएका छन् ।
नगरपालिकाले आयोजना गरेको लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तरगत १२ औँ दिन शुक्रबार लैंगिक हिंसा र कानुन सम्बन्धि नगरका सरोकारवाला निकायबीच सम्पन्न अन्तरक्रियामा उनले यस्तो कुरा बताएका हुन् ।
प्रमुख अतिथि बुढाथोकीले यस्ता कुरीतिहरु नियन्त्रण गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरू अगाडि सारिएको दावी गरे ।
उनका अनुसार लैंगिक हिंसा गर्नेलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारवाही अगाडि बढाउनु पर्छ । जुनसुकै बहाना र जस्तोसुकै पहुँचमा रहेकाले हिंसा गरेपनि कानुनी दायरामा ल्याएर सजाय दिनुपर्ने उनको ठहर छ ।
यसलाई कार्यान्वयन गर्न सम्बन्धि निकाय लाग्नुपर्छ र सचेत नागरिकले लैंगिक हिंसा बिरूद्ध खबरदारी गरिरहनुपर्ने उनको भनाइ छ ।
उपमेयर मीना पोखरेल उप्रेतीले सभ्य समाज निर्माणका लागि बालबालिका, महिला, पिछडिएका वर्ग, समुदायमा हुने लैंगिक हिंसा अन्त्य हुन आवश्यक रहेको बताइन् । समाजमा समान हक स्थापित गर्न लक्षित वर्गलाई पनि प्रशस्त अवसर आवश्यक रहेको उनले बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक हृदय राजवंशी, कार्यपालिका सदस्यहरु कविता खनाल मिजार, माया प्याकुरेल, अञ्जु थापा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अधिवक्ता कविता बाँस्तोला पाठक र पुष्पाञ्जली ठकुरी सिन्हाले सहजीकरण गरेको लैंगिक हिंसा र काुूनका विषयमा नगरका महिला संघ, संस्थाका प्रमुख, सामुदायिक विद्यालयका प्रधानाध्यापक, महिला प्रहरी, महिला शाखा प्रमुख, वडा सचिवहरुको सहभागिता रहेको थियो । सोही अवसरमा उपमेयर उप्रेतीले सहभागीहरुलाई सेनिटरी प्याड समेत वितरण गरेकी थिइन् ।
उपमयर उप्रेतीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख शम्भु पौडेल स्वागत गरेको कार्यक्रम सञ्चालन महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।
Discussion about this post