मेचीनगर, १४ माघ । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नगरको बहुचर्चित नदीजन्य पदार्थका विषयमा नगरसभाले ठोस नीति बनाएर अघि बढ्ने बताएका छन् ।
आज नगरपालिका दोस्रो नगरसभाको छैटौं अधिवेशनको अध्यक्षता गर्दै मेयर बुढाथोकीले मेचीनगरको सर्वत्र चर्चामा रहेको ढुंगा, गिटी र बालुवाका विषयमा यस्तो बताएका हुन् ।
२०७९ जेठ १२ गते सपथ ग्रहण गरेदेखि २०७८÷०७९ को नदीजन्य पदार्थ उत्खननका विषयमा कानुनी समस्या रहेको उनको भनाई छ ।
उनले नगरको मुख्य आम्दानीको श्रोत रहेको ढुंगा, गिटी र बालुवाको ठेक्का लगाएर स्टक प्रमाणित गरेर राख्दा ठेकेदारलाई कानुनले समस्या बनाएको बताए ।
‘त्यतिबेला नगरले ५ करोडमा ठेक्का दिएको थियो’, बुढाथोकीले भने–‘ठेकेदारले नदीजन्य सामग्री खोलाको नजिक स्टक गरेर राख्यो । त्यो स्टक गरेका सामग्री ठेकेदारले झिकेर अहिलेसम्म लान सकेको छैन । संघीय कानुनले छेक्यो । नदी क्षेत्रको १२ सय मिटरभित्र स्टक गरिएका उक्त सामग्री तत्काल उठाएर लानु पर्छ । उक्त सामग्री जेठदेखि असार मसान्तभित्र उठाउन पाएनन् ।’
बुढाथोकीका अनुसार नदीजन्य पदार्थबाट वार्षिक ५÷७ करोडमा ठेक्का लाग्थ्यो । दुई वर्ष बढी भयो ठेक्का लागेको छैन । कर दातालाई अन्यया भएको छ । महालेखा परीक्षकको कार्यालयले लीलामी गर्नु पर्ने सुझाव दिएको छ ।
नगरसभाले नदीजन्य पदार्थ उत्खननका विषयमा कानुनसँग नबाझिने गरी ठोस नीति बनाएर अघि बढ्ने बुढाथोकीको दावी छ ।
त्यस्तै उनले करका विषयमा गलत नगर्ने राम्रो काम गर्न केहि शिर्षकहरुमा करको दायरालाई फराकिलो पार्ने बताएका छन् । घरबहाल कर, चारकिल्ला, बाटोको सिफारिस लगायतका विषयमा राजस्व परामर्श समितिको रायसहित नगरसभाले निर्णय गरेर जाने बुढाथोकीको भनाई छ ।
बुढाथोकीले वैठकको छलफलको कार्यससूचीहरू प्रस्तुत गरेका थिए ।
नगरसभामा उपमेयर मीना पोखरेल उप्रेतीले वित्त विवरण प्रस्तुत गरेकी थिइन् । दोस्रो नगरसभाको पाँचौ अधिवेशनबाट आर्थिक वर्ष २०८१÷८२ का लागि स्वीकृत गरेको नीति, कार्यक्रम तथा बजेटको हालसम्मको आर्थिक स्थितिको संक्षिप्त जानकारी गराइन् ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को लागि कुल अनुमानित आय २ अर्व १५ करोड ७० लाख २५ हजार १ सय ९३ रुपैयाँ मध्ये चालु तर्फ ९३ करोड ७८ लाख ४६ हजार ९१९ एवम् पूँजीगत तर्फ १ अर्ब २१ करोड ९१ लाख ७८ हजार २ सय ७४ बिनियोजन भएको उनले बताइन् ।
अनुमानित आयतर्फ माघ १३ गतेसम्म नगरले करिब ९२ करोड ९ लाख ६६ हजार आम्दानी गरेको उपप्रमुख उप्रेतीले जानकारी दिनुभयो ।
उनका अनुसार नेपाल सरकार समानीकरण अनुदान तर्फ १२ करोड ४७ लाख ५० हजार, नेपाल सरकार सःशर्त अनुदान चालु तर्फ २७ करोड ६२ लाख ५२ हजार, नेपाल सरकार सःशर्त अनुदान पूँजीगत तर्फ १७ करोड ८७ लाख ३८ हजार, स्थानीय राजश्व बाँडफाँड तर्फ १ करोड ६ लाख ४५ हजार, संघीय राजश्व बाँडफाँड अन्तर्गत मुल्य अभिवृद्धि कर तर्फ ६ करोड १५ लाख ४ हजार, अन्तःशुल्क तर्फ १ करोड १७ लाख १७ हजार, आन्तरिक श्रोत तर्फ ७ करोड ८२ लाख ८३ हजार तथा अघिल्लो आर्थिक वर्षको मौज्दात १९ करोड १९ लाख ६१ हजार आम्दानी भएको छ जुन प्रस्तावित आयको ४२ दशमलव ६९ प्रतिशत रहेको छ ।
व्ययतर्फ हालसम्म संघीय सरकार समानीकरण अनुदान तर्फ २ करोड २२ लाख ४७ हजार, संघीय सरकार सःशर्त अनुदान चालु तर्फ २० करोड ३ लाख ८ हजार, संघीय सरकार सशर्त अनुदान पूँजीगत तर्फ १० करोड ७१ लाख २९ हजार, स्थानीय राजश्व बाँडफाँड तर्फ ५८ लाख ६२ हजार, संघीय राजश्व बाँडफाँड तर्फ २ करोड ७२ लाख ५८ हजार तथा आन्तरिक श्रोततर्फ ११ करोड १६ लाख ७७ हजार खर्च भएको छ जसमध्ये कुल चालु खर्चतर्फ ३२ करोड ९ लाख २३ हजार ८३ अर्थात ३४ दशमलब २२ प्रतिशत र पूँजीगत तर्फ १५ करोड ३५ लाख ६१ हजार ७ सय ९६ अर्थात १२ दशमलब ६ प्रतिशत गरी कुल खर्च जम्मा ४७ करोड ४४ लाख ८४ हजार ८ सय ७९ रहेको छ जुन २१ दशमलब ९९ प्रतिशत रहेको राजस्व परामर्श समितिकी संयोजक समेत रहेकी उप्रेतीले बताइन् ।
नगरसभामा विषयगत संयोजकमार्फत ६ महिनाको समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नगरसभामा आर्थिक विकास समितिका संयोजक तिलजा देवान, सुशासन तथा क्षमता विकास समितिका संयोजक माया प्याकुरेल, पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल, सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, बन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक गुणराज भट्टराई (राजन), विधेयक समिति सदस्य मीनमाया सुब्बा, लेखा समिति संयोजक कविता मिजार र न्यायिक समितिका सदस्य कुन्दन निरौलाले आ–आफ्नो बिषयगत समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
मेयर बुढाथोकीले सोमबार प्रस्तुत विभिन्न प्रतिवेदन अध्ययन गरी आ–आफ्नो विचार र धारणा प्रस्तुत गर्नका लागि अर्काे बैठक माघ २५ गते दिउँसो १ वजेलाई बोलाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत एवम नगर सभाका सचिव अग्निप्रसाद अधिकारीले सभा सञ्चालनको विधिका विषयमा जानकारी गराएका थिए ।
नगरसभामा १५ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।




Discussion about this post