मेचीनगर, १५ माघ । झापामा आफ्नो छुट्टै पहिचान बोकेको धुलाबारीको इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा गरेको प्रगतिले विदेशमा पनि सम्मान पाएको छ ।
आज स्कुलले आयोजना गरेको पत्रकार सम्मेलनमा भोलिदेखि माघ २३ गतेसम्म सञ्चालन हुने बार्षिक कार्यक्रम अन्तरगतका विभिन्न प्रतियोगिताका बारेमा जानकारी गराएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले भोलिदेखि बार्षिक कार्यक्रम अन्तरगत २८ वटा विधामा खेलकुद प्रतियोगिता हुने बताए ।
उनका अनुसार अतिरिक्त क्रियाकलाप अन्तरगत धुलाबारी उत्तर ज्यामिरगढीमा म्याराथन दौड र फुटबल प्रतियोगिता हुनेछ ।
विभिन्न विद्याका विजेता विद्यार्थीहरुलाई माघ २३ गते पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ । सोही दिन स्व.हरिप्रसाद राई मेमोरियल अन्तर सदन फुटवल प्रतियोगिता पनि हुने अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक नविन दाहालले जानकारी दिए ।
स्कूलले विद्यार्थीको स्वास्थ्यलाई मध्येनजर गर्दै बिर्तामोड स्थित बीएन्डसी अस्पतालसँग स्वास्थ्य सम्बन्धी सम्झौता गरेको छ ।
उक्त अस्पतालमा स्कुलमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीलाई १० प्रतिशत छुटमा उपचार गर्ने सहमति भएको शिक्षक महेश खड्काले बताए ।
प्रिन्सिपल राईलाई हालै मलेसियामा मेरील्यान्ड स्टेट मेरील्यान्डे ‘डाक्टर अफ फिलोसफी इन एजुकेसन’ उपाधिबाट सम्मान गरेको छ ।
शिक्षाको माध्यमबाट समुदायमा जागरण फैलाउन योगदान दिएका विश्वभरिका दुई हजार मध्ये उत्कृष्ट १०५ जना शिक्षासेवीहरुलाई युनिभर्सिटीले उक्त उपाधि दिएको छ ।
प्रिन्सिपल राई यसअघि नेपाल सरकारको तीनै तहका सरकारबाट समेत सम्मानित भइसकेका छन् । यस्तै होराइजन मलेसियामा भर्खरै आयोजित विश्व स्कुल शिखर सम्मेलन (वल्र्ड स्कुल समिट) बाट पनि सम्मानित भएको छ ।
औपचारिक पढाइसँगै अतिरिक्त क्रियाकलापमा आफ्ना विद्यार्थीलाई अब्बल बनाउन, अहिलेको शैक्षिक आवश्यकता परिपूर्ति गर्न र उत्कृष्टताका लागि रचनात्मक एवम् कलात्मक क्षेत्रमा विशिष्ट कार्य गरेको कारण इस्ट होराइजनलाई सम्मान गरिएको राईको भनाई छ ।
स्कुलकी प्रमुख प्रशासक सावित्री सापकोटा राईले सरकारले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण विभेदपूर्ण रहेको बताइन् ।
‘निजी विद्यालय आफ्नै बलबुताले शिक्षा क्षेत्रमा काम गरिरहेको छ’, सापकोटाले भनिन्–‘निजी विद्यालयका कारण सामुदायिक विद्यालयकोस्तर सुधार हुन थालेको छ । निजी विद्यालयलाई ‘माफिया’को उपनाम दिएकोमा गुनासो छ ।’
अहिले स्कुलमा विदेशीस्तरको पनि पढाई सुरु भइरहेको छ । क्यामब्रिज विश्वविद्यालयस्तरको पढाई हुन थालेको छ । आफ्नै विद्यालयमा विदेशी भाषा सिक्न अन्त जानु पर्ने बाध्यता अन्त्य भएकोले पनि विद्यार्थीहरुको मनोबल बढेको शिक्षकहरुको बुझाई छ ।
सम्मेलनमा खेलकुद विभागका शिक्षक डिके राई, अनुसाशन विभागका शिक्षक प्रेम डाँगी, स्कुलकी महिला क्यापटेन अनु श्रेष्ठ लगायतले स्कुलको गतिविधिका बारेमा जानकारी गराएका थिए । पत्रकार सम्मेलनको सहजिकरण शिक्षक खड्काले गरेका थिए ।




Discussion about this post