बिर्तामोड, २१ माघ । पूर्वाञ्चल क्यान्सर अस्पताल र यति एयरलायन्स प्रालिबीच क्यान्सरका विरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको छ ।
यति एयरलायन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईले आइतबार क्यान्सरका विरामीका लागि निःशुल्क हवाई टिकट उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका विरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको छ । बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको १०० शैयाको सुविधा सम्पन्न अस्पताल हो ।
क्यान्सरका विरामीको उपचारका लागि पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरी लगायतका उपचार प्रविधि र सुविधा उपलब्ध रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.वीरेन्द्र यादवले जानकारी दिए ।
पाँच वर्षमा पत्ता लागेका नयाँ विरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका ८१४ जना र फोक्सो क्यान्सरका ८०५ जनाको उपचार गरिएको उनले बताए । उनका अनुसार पाठेघरको क्यान्सर, नाक, कान र घाँटीको क्यान्सरका विरामीको संख्या तेस्रो र चौथो स्थानमा छ ।
निःशुल्क हवाई टिकटको सुविधाले क्यान्सरका विरामीलाई राहत मिल्ने र पेटसिटी लगायतका उपचार प्रविधिका लागि महँगो खर्च तिरेर भारत धाउनु पर्ने बाध्यताबाट देशभरका विरामीको बाध्यता हट्ने उनको दावी छ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्नका लागि क्यान्सर संक्रमण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख छ ।
विरामीले अस्पताल जाने र घर फर्किने दोहोरो टिकट पाउने उनले बताए । गिरीले पाँच वर्षमा अस्पतालमा ६ हजार ४८४ जना नयाँ क्यान्सरका विरामीको उपचार भएको बताए ।
अत्याधुनिक उपकरण र दक्ष चिकित्सकीय जनशक्ति भएका कारण अस्पतालमा देशका कुनाकाप्चा र विदेशबाट समेत उपचार गराउन आउनेको संख्या बढिरहेको अस्पतालले जनाएको छ ।
Discussion about this post