झापा, १० फागुन । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा–११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भद्रपुर स्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा–११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो ।
आज खचाखच दर्शक भएको रंगशालामा पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको १४ औँ मिनेटमा झापाका एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए । चर्च ब्वाइजका किपर कृशल मोक्तान अगाडि बढेको अवस्थामा थापाले मैदानको मध्य भागबाट लगेको बललाई जाली चुमाए ।
खेलको ४१ औँ मिनेटमा चर्च ब्वाइजका विक्रम धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए । झापाका प्रदिप बुढाथोकीले चर्चका सुजन डंगोललाई फाउल गरे । त्यसपछि एरिक विष्टको फ्रिकिक प्रहारलाई सदुपयोग गरी धिमालले गोल गरेका थिए ।
खेलको ७९ औँ मिनेटमा झापाका कप्तान पेमा तामाङले टिमका लागि थप एक गोल गरे । चर्चका गोलकिपर मोक्तानले पञ्च गरेको बल किलियर नहुँदा तामाङले टिमलाई २–१ को अवस्थामा ल्याए ।
घरेलु दर्शकको समर्थन रहेको झापाले गोल गर्ने केही अवसरहरू गुमाएको थियो । खेलको २४ औँ मिनेटमा प्रदिप बुढाथोकीको पेनाल्टी एरियाको हेडर चर्चका किपर मोक्तानले नियन्त्रणमा लिए ।
खेलको ३२ औँ मिनेटमा एरोन थापाले पेनाल्टी एरिया नजिकैबाट गरेको प्रहार किपर मोक्तान रोके । पहिलो हाफको अतिरिक्त समयमा एरोनको कर्नर किकमा सुमन मगरको हेडेर क्रसबार माथिबाट बाहिरियो ।
खेलको ३७ औँ मिनेटमा चर्चका प्रशान्त लक्समले पेनाल्टी एरियाबाट गरेको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले रोके । खेलको ३१ औँ मिनेटमा उमेश राईको प्रहार गोलकिपर लिम्बूले बचाउ गरे ।
खेलको प्लेयर अफ द म्याच झापा ११ का पेमा तामाङ भए । उनले नगद २१ हजार र ट्रफी पाए । खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा झापाका प्रशिक्षक अंगुरकुमार खड्गीले पछिल्लो समय एउटै टिमवर्कका कारण ए डिभिजन टिमसँग प्रतिस्पर्धा गर्न सहज भएको बताए ।
खेलाडीको उत्कृष्ट प्रदर्शनले लगातार दुई खेलमा जित हात पारेको बताउँदै उनले भने, ’खेलमा तलमाथि हुन्छ, रेफ्रीले पनि सोहीबमोजिम सही डिसिजन दिनुपर्छ ।
त्यस्तै, चर्च ब्वाइजका व्यवस्थापक सविन डाँगीले मोफलसमा प्रतियोगिता जुधेर समस्या आएको बताए । उनले क्लबको मुख्य टिम अहिले हेडौँटामा रहेकाले सबै खेलाडी यहाँ ल्याउन नसक्दा हार व्यहोर्नु परेको बताए ।
सौर्यएअर ओमसाई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको तेस्रो क्वार्टर फाइनल खेल न्यु रोड टिम (एनआरटी) र बंगलादेशको काउरन बाजार प्रगति संघबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।
Discussion about this post