काँकरभिट्टा, १७ फागुन । मेचीनगरमा शेर्पा समुदायले नयाँ वर्षका रुपमा २१५२ औं ग्याल्पो ल्होसार पर्व भव्यताका साथ मनाएको छ ।
नयाँ पुस्ताका शेर्पा समुदायलाई पर्वको महत्व बुझाउनका लागि पनि कार्यक्रम आयोजना गरिएको वडा र नगरको शेर्पा संघले जनाएको हो ।
शेर्पा समुदायको छाता संगठन वडा र नगरको शेर्पा संघले आ–आफ्नै तरिकाले पर्व मनाएका छन् । शेर्पा संघ मेचीनगर वडा नं ९ समितिले ग्याल्पो ल्होसार पर्व धुमधामका साथ मनाएको छ ।
नयाँ पुस्ताका शेर्पा समुदायलाई पर्वको महत्व बुझाउनका लागि कार्यक्रम आयोजना गरिएको वडा समिति अध्यक्ष रतन शेर्पाले बताए ।
धुलाबारी स्थित लीलाबस्तीमा रहेको पेम्बा होइसेलिङ गुम्बामा आयोजित कार्यक्रममा लामा गुरुहरुले मन्त्र उच्चारण गरेका थिए ।
गुम्बाका अध्यक्ष चन्द्रथिङ तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा समिति अध्यक्ष रतन शेर्पाले, स्वागत कोषाध्यक्ष निम्तेन्जी शेर्पाले र सञ्चालन सचिव याङ्जी शेर्पाले गरेका थिए ।
वडा नं.९ मा शेर्पा समुदायको १३ घर परिवार रहेको छ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५२ औं ग्याल्बो ल्होसार मनाउन मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।
यसैगरी नेपाल शेर्पा संघ मेचीनगर समितिले पनि काँकरभिट्टामा उक्त पर्व मनाएको छ । मेचीनगर–६ काँकरभिट्टा स्थित मेची सामुदायिक भवनमा ग्याल्पो ल्होसार पर्व मनाएको समितिका पासाङ शेर्पाले बताए ।
Discussion about this post