मेचीनगर, २७ फागुन । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा तीन वटा ‘स’ को लडाई हुने भएको छ ।
संयुक्त अखिल साझा प्यानलबाट सभापतिमा संगम बराल, नेविसंघका तर्फबाट सभापतिमा सुरज राई र राप्रविसंगठनका तर्फबाट सभापतिमा सञ्जोग खनालबीच प्रतिस्पर्धा हुने भएको छ ।
काँकरभिट्टा बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा विद्यार्थीका तीन वटा संघ, संगठनका विद्यार्थीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनका लागि आज संयुक्त अखिल साझा प्यानल, नेपाल विद्यार्थी संघ र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको समूहले मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन समितिका अनुसार जम्मा २४ जना विद्यार्थीहरुको उम्मेदावरी परेको छ । जसमा संयुक्त अखिल साझा प्यानलबाट सभापतिमा संगम बराल, सचिवमा एलिश पौडेल र कोषाध्यक्षमा सुवास गौतम तथा सदस्यहरुमा विश्वप्रकाश भण्डारी, इसाक खडिया, मानव ढुंगेल, मौसम प्रधान, प्रदिप्ती ढकाल र चुनौती ढुंगेलले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै नेपाल विद्यार्थी संघका तर्फबाट सभापतिमा सुरज राई, सचिवमा अंकितप्रसाद चम्लागाई र कोषाध्यक्षमा रिया ढुंगाना तथा सदस्यहरुमा भुवनसिंह खतिवडा, अपेक्षा चम्लागाई, निश्चल तामाङ, एविक अधिकारी, विज्ञान राई र सन्ध्या कार्कीको उम्मेदवारी रहेको छ ।
यसैगरी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका तर्फबाट सभापतिमा सञ्जोग खनाल, सचिवमा सोभियत श्रेष्ठ र कोषाध्यक्षमा आकाशबहादुर श्रेष्ठ तथा सदस्यहरुमा अमृत खतिवडा, युगेन विश्वकर्मा र अरुणा गिरीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि विद्यार्थीका पाँच वटा संघ–संगठनले संस्थाको नाम दर्ता गराएका थिए । जसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु), नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (क्रान्तिकारी) र नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (एस) रहेका थिए ।
क्याम्पसमा हाल करिव ६०० सय विद्यार्थी अध्ययनरत छन् । अनेरास्ववियू यसअघिको दुई पटकको चुनावमा पराजय भोगेको बदला लिने योजनामा छ । नेवि संघ यसअघिको शाख जोगाउने ध्यानमा छ । यसपटक चुनावी प्रतिस्पर्धा कडा हुने विद्यार्थीहरुको अनुमान छ । अनेरास्ववियूले यसपटक गठबन्धन गरेरै भएपनि सत्ता आफ्नो हातमा लिने उदेश्य राखेका छ ।
२०७९ चैत १० गते सम्पन्न निर्वाचनमा नेवि संघका विशाल तामाङ सभापतिमा विजयी भएका थिए । २०७३ फागुन १८ मा भएको स्ववियू निर्वाचनमा नेवि संघका सुरज सुवेदीको प्यानल निर्वाचन भएको थियो ।
Discussion about this post