मेचीनगर, ३ जेठ । गृहमन्त्री र पर्यटन मन्त्रीलाई सगरमाथाको बेसक्याम्पमा बोलाएर नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विविध विषयमा छलफल गरेका छन् ।
शनिबार प्रतिनिधिसभा सदस्य समेत रहेका महामन्त्री शर्माको संयोजनमा गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डेलाई सगरमाथा बेसक्याम्पमा बोलाएर ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा लगायतका बिषयमा बिशेष संवाद गरिएको हो ।
शर्माको निमन्त्रणामा गृहमन्त्री लेखक र पर्यटन मन्त्री पाण्डे सगरमाथाको बेसक्याम्पमा पुगेका थिए । सगरमाथाको ३१ पटक आरोहण गरेकी किर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर बिशेष संवादको सुरु गरिएको थियो ।
सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने १६ बुँदे कार्यहरू बारे स्थानीयका तर्फबाट आरोही बाबू शेर्पाले फेरिस्ते प्रस्तुत गरेका थिए ।
लुक्लादेखि ५ दिन लगातार पदयात्रा गरेर सगरमाथा बेसक्याम्प पुगेका महामन्त्री शर्मा यो साता दुई काममा व्यस्त रहेका थिए । पहिलो आरोहण प्रशिक्षण र दोस्रो हिमाली क्षेत्रका नागरिक एवम् हिमाल आरोहण क्षेत्रले भोग्नु परेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउने थियो ।
गृहमन्त्री लेखकले १६ बुँदाको कार्यहरु बुझ्दै अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगले कार्य गर्न लागेको बताए ।
अर्का पर्यटन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू सक्रियता पूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विशेष सम्बादमा किर्तिमानी आरोही कामिरिता शेर्पा, डा.आशिष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतले सगरमाथा क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्न राज्यले योजना बनाएर अघि बढ्नु पर्ने माग गरेका थिए ।
शर्माले बेसक्याम्पमा सञ्चार टावर, भरियाको बीमा, सुरक्षा युनिट लगायतका बिषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिए । कार्बन उत्सर्जन बढी गर्ने ठुला राष्ट्रहरुमाथि दबाब बढाउन साना राष्ट्रहरुको नेतृत्व नेपालले गर्नुपर्ने उनको भनाई छ ।




Discussion about this post