झापा, २६ जेठ । कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा बुद्धशान्तिको आदर्श माध्यमिक विद्यालय प्रथमसहित चार लाख नगद पुरस्कार हात पारेको छ ।
बिर्तामोडको देवि माध्यमिक विद्यालयमा सोमबार समापनको प्रदर्शनीमा विज्ञ निर्णायक टोलीले बुद्धशान्तिको आदर्श माध्यमिक विद्यालयलाई प्रथम घोषणा गरेको हो ।
टोलीले बिर्तामोडको देवी माविलाई दोस्रो र तेह्रथुमको सिंहदेवी माध्यमिक विद्यालयलाई तेस्रो भएको जानकारी गराएको थियो ।
दोस्रो हुने विद्यालयले तीन लाख र तेस्रो हुनेले दुई लाख नगदसहित पुरस्कार प्रदान गरेको थियो । प्रतिभा प्रोत्साहन पुरस्कार वापत नौ वटा विद्यालयलाई जनही २५ हजार पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिभा प्रोत्साहन पुरस्कार पाँचथरको फिदिम मावि, इलामको फिक्कल मावि, सुनसरीको ल्याबोरटरी मावि, खोटाङको चिसापानी मावि, ताप्लेजुङको भानु जन मावि, संखुवासभाको मनकामना रत्न अम्बिका मावि, झापाको हिमाली मावि र मोरङको रिलायन्स माविले पाएका थिए ।
प्रथम हुने विद्यालयका विद्यार्थीले ‘अटोमेटिक भोल्टेज कन्ट्रोलर सर्किट’ प्रदर्शनीमा राखेका थिए । दोस्रो हुने विद्यालयका विद्यार्थीले ‘बोल्ने रोबोट’ प्रदर्शनीमा राखेका थिए ।
प्रतियोगितात्मक प्रदर्शनीमा प्रदेशका १२ वटा जिल्लाका ७० भन्दा बढी विद्यालय सहभागी रहेका थिए । एक लाख दर्शकले प्रदर्शनीको अवलोकन गरेको आयोजकको दावी छ ।
नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले उक्त प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।




Discussion about this post