मेचीनगर, ३० असार । वर्षौँदेखि हात्तीबाट पीडित बाहुनडाँगीका जनताले अब बाँसको जरामा हात्तीको चित्र बनाएर बेच्न थालेका छन् ।
दिनरात मेहेनत गरेर बाहुनडाँगीका किसाले लगाएको धानबाली खाने, नष्ट गर्ने, घरै भत्काउने र बेला बेला लखेटी लखेटी ज्यानै लिने गरेपछि बाँसको जराबाट हात्ती कै हस्तकलाको सामग्री बनाएर बेच्न थालेका हुन् ।
हात्ती, चराचुरुङ्गी, वन्यजन्तु तथा अन्य आकर्षक सामग्रीहरुको चित्र बनाएर देश–विदेशमा लगेर बिक्री गर्न थालेका छन् ।
खेर गएका, दाउरा बाल्न र फालिएका बाँसका जरालाई हस्तकलाको सामग्रीको रुपमा प्रयोगमा ल्याएर महंगो मुल्यमा किसानले बेचिरहेका छन् ।
बर्षौँदेखि हात्तीसँग पौठाँजुरी खेलेकी बाहुनडाँगीकी पुष्पा विष्ट घिमिरेले खेर गएका बाँसका जराको महत्व बल्ल बुझ्न थालेको बताइन् । उनका अनुसार यसको महत्व र उपयोगिता बुझेपछि यसैमा आत्मनिर्भर बन्न सकिने रहेछ ।
‘बर्षौँदेखि बाँसका जरा काम नलाग्ने भनेर फाल्यो’, घिमिरेले भनिन्–‘दाउराका रुपमा धेरै पटक बाल्यो । मेचीनगर–४ नम्बर वडा कार्यालयको तालिम लिएपछि यसको महत्व बल्ल बुझ्न पाइयो ।’
उनले भनिन् ‘हस्तकलाका विषयमा वडा कार्यालयले आयोजना गरेको तालिममा सहभागी भएपछि बाँसको जराको महत्व र प्रयोग बुझियो । अहिले यसको व्यापारमा समूह बनाएर जुट्ने तयारी गरिएको छ ।
वडा कार्यालयले हस्तकला सम्बन्धी एक महिने तालि दिएको थियो । सोमबार तालिम समापनको अवसरमा उनले प्रशिक्षकले बाँसको जराको महत्व र प्रयोग सिकाएपछि बल्ल दिमागमा आयो । तालिम लिएका अधिकांशले बाँसको जराबाट हस्तकलाका सामग्री बनाएर बेच्न सुरु गरेका छन् ।
वडाध्यक्ष अर्जुनकुमार कार्की भन्छन्–‘हात्ती मार्न पाइदैन । पाल्न पनि सकिन्न । अब यसको विकल्प । त्यहि हात्ती र अन्य जीवजन्तुको बाँसको जराबाट आकृति बनाएर बेच्ने नयाँ तरिका अपनाएका हौँ । यसले बाहुनडाँगीका जनताको आयआर्जनको मुख्य श्रोत बन्ने छ ।
समापन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीका अनुसार आयआर्जनको श्रोतलाई नचिनेर सदुपयोग गर्न सकेनौँ । खेर फाल्नु हुँदैन भनेर यसको महत्वलाई सबैले बुझाउनु पर्छ ।
वडा कार्यालय र नगरपालिका कार्यालयले सीप विकासका लागि वर्षेनि बजेट छुट्टाईरहेको छ । कोशी प्रदेशको वन, वातावरण तथा पर्यटन कार्यालय र डिभिजन वन कार्यालय झापाले सहजीकरण गरेको छ ।
कार्यक्रममा नागरिक समाज बाहुनडाँगीका अध्यक्ष निलकण्ठ तिवारी, तालिममा सहभागी पुष्पा विष्ट घिमिरे लगायतले यसको महत्व र उपयोगिताका बारेमा चर्चा गरेका थिए ।
तालिममा सहभागीहरुले बाँसको जराबाट महिलाहरुले प्रयोग गर्ने माला, बुलाकी, बाला, हात्ती, जीवजन्तु लगायतका हस्तकलाका सामग्री बनाएका थिए । एउटा मालाको होलसेल रेट एक हजार रुपैयाँ बढी पर्छ । उक्त सामग्रीहरु बजारीकरणका लागि डिभिजन वन कार्यालयले सहयोग गर्ने बताइएको छ ।
तालिममा सहभागीहरुलाई वडा कार्यालयले औजारका सामग्रीहरु र प्रमाणपत्र समेत वितरण गरेको थियो । तालिममा सहभागीहरुलाई हस्तकलाका विज्ञहरु निर्मल शाक्य र भर्खरै भारतीय प्रधानमन्त्रीबाट सम्मानित भएका आसामका प्रभाव शेखले प्रशिक्षण दिएका थिए ।
वडाध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा समापन भएको कार्यक्रमको स्वागत वडा सदस्य गीता थापा मगरले र सञ्चालन वडा सचिव भवानी सिटौलाले गरेका थिए ।




Discussion about this post