

मेचीनगर, १७ साउन । मेचीनगर–१३ स्थित चारआलीमा यही साउन २४ गते एकदिवसीय प्रथम इन्डो–नेपाल इन्टर स्कुल ओपेन कराँते प्रतियोगिता हुने भएको छ ।
शनिबार राति ८ वजे चारआलीमा ब्रज स्पोटर्स एकाडेमीले आयोजना गरेको पत्रकार सम्मेलनमा एकदिने प्रथम इन्डो–नेपाल इन्टर स्कुल ओपेन कराँते प्रतियोगिता हुन लागेको जानकारी गराएको हो ।
प्रतियोगितामा ६ वर्षदेखि १६ वर्ष उमेर समूहका नेपाल–भारतका ५० वटा विद्यालयका करिव ५ सय विद्यार्थीहरु सहभागी हुने ब्रज स्पोटर्स एकाडेमीका अध्यक्ष फुर्वा लामाले जानकारी दिए ।
भारतका विभिन्न प्रान्तका चर्चित १५ वटा स्कुल तथा झापाका सबै विद्यालयसहित नेपालका विभिन्न जिल्लाका स्कुलहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताका प्रथम हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार र सानत्वना हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए । पत्रकार सम्मेलनमा प्रतियोगिताका विजेताहरुलाई दिने शिल्डहरुको ओपेनिङ झापा जिल्ला कराँते प्रशिक्षक कालु मेचेले गरेका थिए ।
प्रथम पुरस्कार कंगारु एजुकेशनले, दोस्रो पुरस्कार स्थानीय समाजसेवी निर्मला ओलीले सहयोग गरेका छन् । मुख्य प्रायोजकमा एमडी एजुकेशन रहेको छ ।
अहिलेका युवाहरु लागूऔषधमा फस्दै गएकाले स्कुलमा पढ्ने विद्यार्थीहरुलाई सचेतना गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष लामाको भनाई छ ।
चारआली चौकदेखि ३०० मिटर उत्तर कवर्ड हलमा आयोजना हुने प्रतियोगिताको प्रमुख अतिथि संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी रहनेछन् ।
कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, संघीय सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा लगायतको उपस्थिति रहनेछ ।
ब्रज स्पोटर्स एकाडेमीका अध्यक्ष फुर्वा लामाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको स्वागत उपाध्यक्ष बद्री विष्टले र सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।




Discussion about this post