झापा, २ भदाै । संघीय सरकारले मेचीनगरका महेश खनाललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणकाे सदस्य पदमा नियुक्त गरेकाे छ ।
मेचीनगर-१०, धुलाबारी निवासी खनाललाई सरकारले प्राधिकरण सदस्यमा नियुक्त गरेकाे झापा-१ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकाे सचिवालयले जानकारी दिएकाे छ ।
समितिमा खनालले चार्टर्ड एकाउन्टेन्टहरुको प्रतिनिधित्व गर्नेछन् । उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्व राष्ट्रिय अध्यक्ष समेत हुन् ।
सहकारी क्षेत्रकाे विकृति नियन्त्रण गर्ने र सहकारी पीडितलाई विधिवत प्रक्रियाबाट न्याय दिलाउने उदेश्यका साथ सरकारले २०८१ सालमा प्राधिकरण स्थापना गरेको थियो l
प्राधिकरणमा अध्यक्ष र ४ जना सदस्य रहने व्यवस्था छ । अध्यक्षमा यसअघि नै सरकारले खगराज शर्मालाई नियुक्त गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकबाट एक जना कार्यकारी निर्देशक पदेन सदस्य रहने प्रावधान अनुरुप गुरुप्रसाद पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट एक जना सहसचिव रहने प्रावधान बमोजिम मदन कोइराला पदेन सदस्यमा छन् l
यस्तै बिज्ञ सदस्यका रुपमा सरकारले नेपाल राष्ट्र बैंकका उपनिर्देशक रमेश चौलागाईंलाई नियुक्त गरेको छ l प्राधिकरणले संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था नियमन गर्नेछ ।
प्राधिकरणले पूर्णता पाएसँगै सहकारीका बेथितिका विषयमा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढ्ने बाटाे खुल्ला भएको छ ।




Discussion about this post