मेचीनगर, २ भदौ । मेचीनगर–११ र १२ मा रहेको कालिका सामुदायिक वन उपभोक्ता समूहको यही भदौ महिनाको तेस्रो साता चुनाव हुने भएको छ ।
सोमबार सामुदायिक वनको कार्यालयमा बसेको सर्वपक्षीय भेलाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै प्रक्रिया अगाडि बढाएको हो ।
निर्वाचन कार्यतालिका अनुसार भदौ ४ गते मतदाता नामावली प्रकाशन, भदौ ५ गते मतदाता नामावली उपर दावीविरोध गर्दै अन्य प्रक्रिया अगाडि बढाइएको उल्लेख छ ।
निर्वाचन समितिका संयोजक सन्तोषकुमार मेचेले वडा नम्बर ११ को वडा कार्यालयमा निर्वाचन समितिको कार्यालय राखेर काम कारवाही अघि बढाइने बताए ।
अध्यक्षसहित १५ सदस्यीय कार्यसमिति पदमा निर्वाचन हुने निर्वाचन समितिका सचिव टंककुमार रिजालको भनाई छ । त्यस्तै पाँच सदस्यीय लेखा समिति पदका लागि निर्वाचन हुने छ ।
अध्यक्ष पदको उम्मेद्वारमा वीरबहादुर तामाङ, ख्याम राई, रामकुमार रिजाल, लक्ष्मी गौतम, दीपेश राई लगायतको नाम चर्चामा छ ।
भदौ २१ गते हुन लागेको निर्वाचनमा दुई हजार १५० जना उपभोक्ताले मतदान गर्नेछन् । मतदाताको अन्तिम नामावाली टुंगो लाग्न बाँकी रहेको छ । निर्वाचन बलभद्र जनता मावि परिसरमा हुनेछ ।
आजको सर्वपक्षीय भेलामा नेपाली कांग्रेसका वीरबहादुर तामाङ, एमालेका सागर ओली, माओवादी केन्द्रका नरेन्द्र गछाम, राप्रपाका राजन प्रसाई, वडा नम्बर १२ का सदस्य विशुलाल मेचे, वडा नम्बर ११ का सदस्य श्याम शिवाकोटी, सामुदायिक वनका अध्यक्ष योगेश भट्टराई लगायतले सुझाव सहितको धारणा व्यक्त गरेका थिए ।




Discussion about this post