झापा, २ भदौ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले शैक्षिक परार्मश ब्यवसायलाई मर्यादित र ब्यवस्थित बनाउन आवश्यक सहयोगका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
सोमबार इक्यान झापाका अध्यक्ष रोशन सुवेदीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
शैक्षिक परामर्श व्यवसाय विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि अन्तर्राष्ट्रिय अध्ययन सम्बन्धी जानकारी, मार्गदर्शन र सेवाप्रदान गर्ने एउटा महत्वपूर्ण क्षेत्र भएको भन्दै पछिल्ला दिनमा केही भ्रामक गतिविधिहरु र गैरजिम्मेवार अभ्यासका कारण यस क्षेत्रमा प्रश्न उठ्न थालेकाले समग्र व्यवसायको विश्वसनीयता र मर्यादामा गम्भीर असर परेको ज्ञापन पत्रमा उल्लेख छ ।
अध्यक्ष सुवेदी र सचिव अशोक भण्डारीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ–‘नेपाल शैक्षिक परामर्श संघ झापा शाखा यस क्षेत्रमा कार्यरत सम्पूर्ण व्यवसायीहरुलाई एकीकृत गर्दै शैक्षिक परामर्श व्यवसायलाई थप मर्यादित, पारदर्शी र व्यवस्थित बनाउँन चाहन्छौँ ।
करिव ५० वटा शैक्षिक परामर्श व्यावसायीहरु आवद्ध भएको र हाम्रो संघमा आवद्ध भएका हरेक व्यासायीहरु राज्यको नियम कानुनको परिधिमा रहि विशुद्ध शैक्षिक परामर्श व्यासाय सञ्चालन गर्दै आएको जानकारी गराउदछौँ ।’
शैक्षिक परामर्श व्यासायप्रति नकरात्मक टिकाटिप्पणी तथा गलत अफवाह फैल्याउने काम भइरहेको भन्दै सीडीओ अधिकारीलाई आफुहरु राज्यको नियम र कानुन अनुसार सञ्चालनमा रहे पनि केही कन्सल्टेन्सीको बदमासीका कारण सबै लज्जित हुनुपर्ने अवस्था आएको अध्यक्ष सुवेदीको दावी छ ।
इक्यानमा आवद्ध नै नभएका र राज्यको सम्बन्धीत निकायहरुमा दर्ता प्रक्रियामा समेत सामेल नभएका कन्सल्टेन्सीको नाममा भिजिट भिजा, राम्रो कामको अवसर, रोजगारीको ग्यारेन्टी, भिजा ग्यारेन्टी, विभिन्न उपहारको प्रलोभन देखाएर विधार्थीहरुलाई विदेश पठाउने क्रममा धेरै ठगी तथा गलत सूचना प्रदान गरेको गुनासो प्राप्त भएकाले त्यस्ता कन्सल्टेन्सीको नाममा अनुचीत कार्यहरु गर्ने सस्थाहरुको अनुगमन र नियमन गरिदिन ज्ञापनपत्रमा आग्रह गरिएको छ ।
इक्यान झापामा आवद्ध कुनै पनि कन्सल्टेन्सीहरुले गलत गरेको पाइएमा सदस्यता खारेज गरी तत्काल सम्बन्धीत निकायमा आवश्यक कानुनी कारवाही गर्नका लागी सिफारिस गर्न आफुहरु तयार रहेको सुवेदीले बताए । झापाका सयभन्दा बढी कन्सल्टेन्सीहरु सञ्चालनमा छन् ।
जिल्लामा क्रियाशील शैक्षिक परामर्श, व्यवसायलाई दर्ता, नवीकरण र नियमनमा कडाई गरिनु पर्ने, विद्यार्थीहरुको हितविपरीत हुने अव्यवस्थित अभ्यासलाई नियन्त्रण गर्नुपर्ने, व्यवसायीहरुलाई कानूनी दायरा र निर्धारित मापदण्डभित्र रहेर काम गर्न प्रेरित र प्रोत्साहित गर्नुपर्ने, इक्यान झापासँग समन्वय गरी यस क्षेत्रलाई पारदर्शी र परिणाममुखी बनाउन सहजीकरण गर्नुपर्ने लगायतका माग सीडीओ समक्ष राखेका छन् ।
सीडीओ अधिकारीले जिल्लामा सञ्चालित कन्सल्टेन्सीहरुको अनुगमन गर्ने बताए । उनले इक्यान झापाले आफैं अनुगमन गरिदिन आग्रह गर्नु सकारात्मक कुरा भएको भन्दै कन्सल्टेन्सीहरुको सञ्चालन सम्बन्धि कार्यविधिका विषयमा अध्ययन गरेर छिट्टै जिल्लाभर अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।




Discussion about this post