काँकरभिट्टा, ८ भदौ । तीजको अवसरमा मेचीनगरको दुई वटा संस्थाले राजनीतिक खबरदारीका लागि हस्ताक्षर संकलन अभियान जारी राखेको छ ।
अन्तरपुस्ता महिलावादी मञ्चको तेस्रो बर्ष अनुपम अभियान अन्तरगत मेचीनगर–६ स्थित काँकरभिट्टाको महिला जनचेतना केन्द्र र मखमली महिला बचत तथा ऋण सहकारी सस्थाले हस्ताक्षर अभियान चलाइरहेको छ ।
सहकारी परिसरमा आयोजित तीज कार्यक्रमसँगै हस्ताक्षर अभियानमा मेचीनगरका धेरै महिलाहरुले हस्ताक्षर गरेका थिए ।
महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष एवम् सहकारीकी अध्यक्ष राधा प्रधानले यो हस्ताक्षर अभियान एक हस्ताक्षर मात्र नभएर हाम्रो आवाजको हस्ताक्षर रहेको बताइन् ।
महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङले महिलाहरुको भविष्यको हस्ताक्षर भएकोले महिलाहरुको सपना साकार पार्ने हस्ताक्षरमा सबै एक भएर लाग्न आग्रह गरेकी थिइन् ।
कार्यक्रममा उपभोक्ता जागर अभियान नेपाल मेचीनगरकी अध्यक्ष रचना घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरे, मखमली सहकारीकी संस्थापक सल्लाहकार बिना तामाङ, महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष टीका सुवेदी, त्रिवेणी महिला समूहकी अध्यक्ष पनिता ढकाल, आदिवासी जनजाति महासंघ मेचीनगर–६ की अध्यक्ष रोजी तामाङ लगायतले अब आउने ०८४ को तीनै तहको चुनावमा महिलालाई अग्रस्थानमा ठाउँ दिनु पर्नेमा जोड दिएका थिए ।
मखमली महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष राधा प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कार्यालय प्रमुख सरस्वती आले मगरले र सञ्चालन कार्यसमिति सदस्य रेजिना श्रेष्ठले गरेकी थिइन् ।




Discussion about this post